तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली लोकमार्गमा पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध सडक अझै खुलेन 

दार्चुला । दार्चुलास्थित महाकाली नगरपालिका–५ किम्तडीको ठण्याभीरमा सडक चौडा गर्ने क्रममा खसेको पहिरो हटाउन नसक्दा पाँच दिनदेखि सडक अवरुद्ध भएको छ । 

गत पुस १५ गते सडक निर्माणका क्रममा दार्चुलास्थित महाकाली नगरपालिका–५ किम्तडीको ठण्याभीरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन । सडकमा खसेको पहिरो हटाउन नसक्दा चार दिनदेखि सवारी साधन चल्न सकेका छैनन् ।

यात्रुहरू भीरको जोखिमपूर्ण बाटो प्रयोग गरी वारपार गरिरहेका छन् । 

कडा चट्टानी भू–भाग र साँघुरो सडक क्षेत्र भएकाले निर्माण कार्य लम्बिएको सडक निर्माण गरिरहेको कम्पनीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले रातीको समयमा पनि सडक निर्माण कार्य भइरहेकोले आइतबारसम्म अवरुद्ध सडक खुल्न सक्ने जानकारी दिनुभयो । अवरुद्ध सडक आइतबार साँझसम्म सडक सञ्चालनमा ल्याउन निर्माण कम्पनीलाई निर्देशन समेत दिइएको उहाँले बताउनुभयो ।  

दार्चुलामा सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम खलङ्गाको एक विद्यालयले विद्यालयमा शुक्रबार स्थानीय बिदा दिएको थियो । विद्यालयले एक सूचना सार्वजनिक गर्दै महेन्द्र नमुना माध्यमिक विद्यालयले आइतबार सम्मको लागि विद्यालयमा स्थानीय बिदा गरेको विद्यालय प्रशासनले जनाएको छ ।

महाकाली नगरपालिका वडा ५ किम्तडीलगायत आसपासका क्षेत्रबाट धेरैजसो विद्यार्थीहरू अध्ययनका लागि महेन्द्र नमुना माध्यमिक विद्यालयमा आउने तर अहिले बाटो अवरुद्ध हुँदा विद्यार्थीहरूलाई आवतजावत गर्न समस्या भएको भन्दै विद्यालयको पठनपाठन कार्य बन्द हुने विद्यालयका प्रधानाध्यापक दामोदर जोशीले जानकारी दिनुभयो ।

जिल्लाको मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरू पैदल हिँड्न बाध्य भएका छन् । पाँच दिनसम्म सडक सुरु नहुँदा मालवाहक सवारी किम्तडी र खलंगामा रोकिएका छन् । पाँच दिनसम्म अवरुद्ध सडक सञ्चालनमा सरोकारवालाहरू जिम्मेवार नभएको स्थानीयको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button