मदन भण्डारी गोल्डकप इन्डो–नेपाल भलिबल : नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी
रुपन्देही । मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को शनिबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले जित निकाल्दा विभागीय टिम एपिएफ भने पराजित भएको छ ।
बुटवल १० रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि ३–१ को सेटको जित निकालेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट पुलिसले २५–१५ अङ्कका साथ जित निकालेको थियो । दोस्रो सेट भने मणिमुकुन्दले २५–२० को अङ्कका साथ जित निकाल्दै बराबरीमा ल्यायो । त्यसपछि भने पुलिस खेलमा लगातार तेस्रो र चौथो सेट २५–२० र २५–१८ अङ्कका साथ जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको थियो ।
यसैगरी शनिबार नै भएको अर्को खेलमा भारतको गुजरातले विभागीय टिम एपिएफलाई ३–१ का साथ पराजित गरेको छ । एपीएफले पहिलो सेट २५–२१ अङ्कका साथ जित निकाल्दै अग्रता गरेको भए पनि त्यसपछि गुजरात खेलमा हाबी भयो । गुजरातले लगातार २५–१८, २५–१५, २५–१८ अङ्कले जित निकाल्यो । यसैगरी तेस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मीले गल्याङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । जसमा समूह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समूह ‘बि’ मा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गलकोट भलिबल क्लब, र गुजरात प्रदेश भलिबल एसोसिएसन, भारत रहेका छन् ।
२४ पुससम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले सात लाख, दोस्रोले तीन लाख ५० हजार, तेस्रोले एक लाख ७५ हजार र चौथो हुने टिमले एक लाख रुपैयाँ पाउनेछ ।
उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागत तर्फ १० हजारका दरले पुरस्कृत गरिने आयोजक एकेडेमीकी सचिव अमृता अनमोलले जानकारी दिइन् ।
प्रतिक्रिया राख्नुहोस्