‘सहकारी उत्पादनसँग जोडिनुपर्छ’ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ ।
दिगो पर्यटन सहकारी संस्थाको १४ औँ साधारण सभाको उद्घाटन पश्चात् बोल्दै मन्त्री गुरुङले सहकारीलाई अनुशासित बनाउन आवश्यक रहेको समेत धारणा राख्नुभयो ।
उहाँले केही सहकारी अत्यन्त अनुशासित ढंगले सहकारीको उद्देश्य पुरा गरे पनि केही सहकारीहरू सामन्त प्रवृत्ति देखिएको बताउनुभयो । पछिल्लो समय यस्ता अनुशासनहीन र जनताको परिश्रम शोषण गर्ने सहकारीप्रति सरकारले खबरदारी गर्दै आएको छ ।
जनताको बचत हिनामिना गर्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याउने, बचतकर्ताको बचत फिर्ता गराउने, अधिकार सम्पन्न सहकारी नियमन प्राधिकरण बनाउने, सहकारी संरक्षण कोष खण्डा गर्ने लगायतका सहकारी सम्बन्धी सरकारको योजना रहेको मन्त्री गुरुङले बताउनुभयो । ‘हामीले सुरु देखि नै सहकारीहरू एकिकृत अनुशासनमा राख्नु पर्ने थियो, जसको परिणाम अहिले देखिएको’ मन्त्री गुरुङले भन्नुभयो ।
साथै उहाँले सुशासनका आयामहरू अपनाएर विकासको गति अघि बढाउने सरकारको लक्ष्य रहेको समेत धारणा राख्नुभयो । मुलुकमा सुशासन कायम हुँदा देशको पुँजीगत खर्चमा वृद्धि हुने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकासमा गतिशील आउने मन्त्री गुरुङको विश्वास छ ।
प्रतिक्रिया राख्नुहोस्