तपाईँ सुन्दै हुनुहुन्छः

जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

वीरगंज । पुस २१ गतेदेखि वीरगंज र जनकपुरमा एकैसाथ सञ्चालन हुने जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा हुने प्रतियोगिताको नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि माघ ३ गते सम्म सञ्चालन हुने क्यान पर्साका अध्यक्ष मनिष सिंहले जानकारी दिनुभयो । 

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहनेछ ।

वीरगन्जमै राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुन लागेकोमा क्यान पर्साका अध्यक्ष सिंहले खुशी व्यक्त गर्दै  प्रतियोगिताको व्यवस्थापन भव्यरुपमा गरेर आगामी दिनमा अरू पनि प्रतियोगिता आयोजना गर्ने वातावरण निर्माणमा पर्सा क्रिकेट संघ जुटेको सिंहले बताउनुभयो । 

अहिले वीरगंज स्थित नारायणी रंगशालाको पिच निर्माण र मैदानको स्तरोन्नति गरिए पनि दर्शक बस्ने व्यवस्था गर्न नसकिएको बताउँदै  बस्ने व्यवस्था नभए पनि मैदानबाहिर बसेर खेलाडीलाई प्रोत्साहन गर्न वीरगंज बासीलाई खेल हेर्न क्रिकेट मैदानमा आउन सिंहले आग्रह गर्नुभयो । 

क्यानका पूर्वअध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको नाममा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई सहभागी गराउन लागिएको हो ।

राष्ट्रिय प्रतियोगिताका लागि वीरगञ्जको नारायणी क्रिकेट मैदानलाई स्तरोन्नति गरिएको छ । क्यान र वीरगञ्ज महानगरपालिकाको समन्वयमा पिच निर्माणदेखि मैदानको स्तरोन्नति सम्भव भएको क्यान पर्साका सचिव घनश्याम गुप्ताले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button