तपाईँ सुन्दै हुनुहुन्छः

तराईका जिल्लाहरूमा शीतलहर सुरु, जनजीवन प्रभावित, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । विशेष गरी तराईका जिल्लाहरूमा आजदेखि शीतलहर सुरु भएको छ ।

मधेश प्रदेशको पश्चिम भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा आज बिहानैदेखि बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएको हो ।

तस्बिर: धुब अधिकारी

रेडियो नेपालसँग आज कुरा गर्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ती कँडेलले यो क्रम केही दिनसम्म तराई क्षेत्रमा निरन्तर रहने बताउनुभयो । 

बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरका कारण तराई क्षेत्रमा हवाई तथा सडक यातायातका साथै कृषि र पर्यटन क्षेत्र समेत प्रभावित हुनसक्ने भन्दै वरिष्ठ मौसमविद् कँडेलले सबैमा सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

तराई बाहेक देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा अवस्थामा रहने र अबको ३ दिनसम्म देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना नरहेको पनि वरिष्ठ मौसमविद् शान्ती कँडेलले जानकारी दिनुभयो ।

यसैबीच, आज बढेको चिसोसँगै शीतलहर सुरु भएपछि बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहितका मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा जनजीवन प्रभावित भएको हाम्रा बीरगंज संवाददाता ध्रुब अधिकारीले जनाउनुभएको छ ।

तस्बिर: धुब अधिकारी

यस्तै, जनकपुरबाट हाम्रा संवाददाता अजय कुमार झाले बिहानदेखि बाक्लो कुहिरो लागेका कारण चिसो पनि बढेको बताउनुभएको छ । 

कुहिरो लागेका कारणले जनकपुरसहित आसपासका जिल्लाहरूका बिहानतिर सवारी साधन सञ्चालनमा समेत समस्या भएको थियो ।

यस्तै, बाक्लो हुस्सु , कुहिरो र शीतलहरका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा जनजीवन प्रभावित बनेको हाम्रा संवाददाताहरूले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button