‘सङ्घको देखासिकी गरेर प्रदेशमा स्थापित संस्थाहरूको मूल्याङ्कन गर्नुपर्छ’
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घको देखासिकी गरेर प्रदेशमा स्थापना गरिएका संस्थाहरूको अब मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सङ्घको देखासिकी गरी हुबहु स्थापना गरिएका संस्थाहरूको अब मूल्याङ्कन गर्नुपर्ने समय आएको बताउनुभयो ।
संघका हुबहु संस्था प्रदेशमा स्थापना हुनाले काम गर्नमा कठिनाइ भएको मुख्यमन्त्री पाण्डेको भनाई थियो । प्रदेश सरकारप्रति संघ सरकारले बेवास्ता गरेको अवस्थामा पत्रकारहरूले समेत खासै ध्यान नदिएको उहाँले गुनासो गर्नुभयो ।
अहिलेको समाजले पत्रकारिता र सामाजिक सञ्जाललाई छुट्टाउन नसक्दा पत्रकारिता पेसामाथि नै चुनौती थपिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा आउने हरेक कुरा समाजले समाचार हो भनेर बुझ्न थालेकोले त्यसलाई बुझाउन नसक्नु पत्रकारितामाथि चुनौती थपिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
निर्वाचन समितिका संयोजक एवं अग्रज पत्रकार कोमलनाथ बरालले पत्रकारको हकहितमा नयाँ नेतृत्वले खरो रूपमा उत्रिने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घ गण्डकीका निवर्तमान अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिस्टार विमला भण्डारी, महासङ्घ गण्डकीका निवर्तमान उपाध्यक्ष दीपक भट्टराई, निवर्तमान महासचिव गोविन्द सुवेदी लगायतले पत्रकारको विषयमा चर्चा गर्नुभयो ।
रमेश पौडेलको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ गण्डकीको हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्