पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा छैटौँ संस्करणको डेल्टा महोत्सव हुने
सुनसरी । सुनसरीको धरानमा अवस्थित रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा छैटौँ संस्करणको डेल्टा महोत्सव हुने भएको छ ।
डेल्टाद्वारा आयोजना हुने डेल्टा ५.० महोत्सव आगामी माघ १८ गतेदेखि २० गते सम्म हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । उक्त महोत्सव इन्जिनियरिङ सङ्कायका विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो कार्यक्रम रहेकोले कृषि, प्रविधि र नवप्रवर्तन लाई मुख्य विषय बनाइएको आयोजकले जनाएको छ ।
महोत्सवले विद्यार्थीहरूलाई प्रविधि र नवप्रवर्तनमा संलग्न गराएर बौद्धिक विकासमा सहयोग पुर्याउने डेल्टाका संयोजक विवेक न्यौपानेले जानकारी दिनुभयो ।
कृत्रिम बुद्धिमत्ता र स्वचालन, डिजिटल अर्थतन्त्र, स्मार्ट सिटीका लागि इन्जिनियरिङ र विश्वव्यापी समाधानका लागि इन्जिनियरिङ जस्ता उपविषयहरू समावेश गरिएको संयोजक न्यौपानेले बताउनुभयो ।
मुख्य विषयवस्तु कृषिमा प्रविधिको नवीनतम प्रयोगका ५ वटा विषयवस्तुमा आधारित प्रविधिहरू एआई र स्वचालन, प्रविधिमा नवीनता, डिजिटल अर्थव्यवस्था, स्मार्ट सहरको परिकल्पना, ग्लोबल समस्या समाधानमा इन्जिनियरिङ रहने संयोजक न्यौपानेले बताउनुभयो ।
हाल पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले अलैँचीको पुच्छर टिप्ने मेसिन र टमाटर ग्रेडिङ गर्ने मेसिन बनाएर बजारमा ल्याएका छन् । यस उत्पादित प्रविधिलाई बजारीकरण गर्न र फिनिसिङ गर्न कामाख्य एग्रोले सहयोग पुर्याइरहेको संयोजक न्यौपानेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्