मुलुकको अर्थतन्त्र सबल बन्दै : अर्थमन्त्री पौडेल
वीरगञ्ज । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विगतमा राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा पर्दै आएको प्रभाव स्थिर सरकारको गठनपछि अन्त्य भएको बताउनुभएको छ ।

आज वीरगन्जमा आयोजित ‘राष्ट्रिय अर्थतन्त्रमा दबाब र प्रभाव, अब निकास के ?’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्यालाई चिर्दै सरकार अगाडी बढिरहेको बताउनुभयो ।
उहाँले ०७२ सालमा संविधान जारी भएपछि देशको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि पुगेको थियो तर सरकार परिवर्तनसँगै त्यसलाई निरन्तरता दिन नसकिएको भन्नुहुँदै सरकार परिवर्तन हुँदासाथ नीति परिवर्तन गर्ने अवस्थाको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री पौडेलले आर्थिक तरलता अन्त्यका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर आवश्यक नीति, ऐन नियम कानुन बनाउने काम भइरहेको बताउँदै आर्थिक क्षेत्रका कानुनी समस्या समाधानका लागि द्रुतमार्गबाट कानुनी बन्दोबस्त गर्ने तयारीका साथ सरकार जुटेको जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग प्रणाली सहज बन्दै गइरहेको र नीतिगत सहजता र ब्याजदर समेत कम भएको हुँदा उद्योग व्यापार क्षेत्रमा उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गर्नुभयो ।
अर्थविद् अच्युत वाग्लेले पूँजीगत खर्च नहुँदा मुलुकको आर्थिक गतिविधि सुस्ताउने हुँदा आर्थिक प्रशासन, कर्मचारीतन्त्र, उद्योगी व्यवसायी चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले निजी क्षेत्रका मनोबल खस्किएको अवस्थामा राज्यले व्यवसायीको मनोबल उच्च बनाउदै लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले निजी क्षेत्रले अर्थतन्त्र बिग्रिँदै गएको बताउने र सरकारले अर्थतन्त्र सबल हुँदै गएको दाबी गर्ने गरेकाले वास्तविकता के हो? भन्दै प्रतिप्रश्न गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्