तपाईँ सुन्दै हुनुहुन्छः

फेवा किनारमा सडक महोत्सव सुरु

कास्की । रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखराको फेवा किनारमा २६ औँ पोखरा सडक महोत्सव शुरु भएको छ ।

महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । कोमागाने पार्कमा उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्था लगायतको उपस्थितिमा सांस्कृतिक झाँकी सहित र्‍याली निकालिएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिनुभयो ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रुपमा सडक महोत्सव गर्दै आएको बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा लेकसाइड क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरेको पौडेलले जानकारी दिनुभयो ।

‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’भन्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको रेवानले जनाएको छ । महोत्सवले पोखराको कला/संस्कृति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन पोखरा सडक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ ।

महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, लाइभ कन्सर्ट मुख्य आकर्षण रहेका छन् ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने आँकलन रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button