घर घरमा फोरजी इन्टरनेट सेवाको पहुँच पुर्याउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यसै वर्षभित्र नेपालको सबै घर घरमा फोरजी इन्टरनेट सेवाको पहुँच पुर्याउने गरी काम गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज पोखरामा आयोजना गरेको प्राधिकरणबाट गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना, दूरसञ्चार सेवाको गुणस्तर सुधारलगायतका विषयमा दूरसञ्चार सेवा प्रदायक र सरोकारवालाहरूको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले प्राय देशहरूमा आफ्नो सुरक्षाको लागि स्याटलाइट भएकोले नेपालले पनि आफ्नै स्याटलाइट राख्नुपर्ने भन्नुहुँदै स्याटलाइटको ऐन र नीति नियम बनाउने बताउनुभयो ।
उहाँले अहिलेको समय सन्दर्भमा एआईको उचित र अधिकतम प्रयोग गरी नेपालको उत्पादन र उत्पादकत्व वृद्धिमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
मानिसले बनाएको एआइले विश्वमा कल्पनाभन्दा धेरै काम गर्दै आएको उल्लेख गर्दै उहाँले यसलाई नेपालमा निश्चित मापदण्डमा ल्याउने बताउनुभयो । एआइको नेपालमा कुनै नीति नियम नभएको भन्नुहुँदै मन्त्री गुरुङले अबको एक महिनाभित्र एआई सम्बन्धी नीति नियम बनाउने बताउनुभयो ।
एआईलाई अब नेपालको कृषि र उत्पादनसँग जोडेर अघि बढाउने योजना ल्याउने सुनाउँदै मन्त्री गुरुङले सरकारी, बैङ्किङ, उद्योगलगायतको क्षेत्रमा एआइको उच्चतम प्रयोग गरेर नेपालले पनि यसबाट फाइदा लिनुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले सहकारी सम्बन्धि संसदीय छानविन समितिले दिएको सिफारिसका आधारमा सहकारी ठगी आरोपमा दोषी ठहरिएका कुनै पनि पार्टीका नेता कार्यकर्तालाई राज्यले नछाड्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्