तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायी महिलाका चुनौती: आर्थिक परनिर्भरता र दोहोरो जिम्मेवारी 

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा न-८ निवासी ३८ वर्षीय अमृता उप्रेतीले करिब ८ वर्ष आफ्नै व्यवसाय सञ्चालन गरिन्। उप्रेतीको, आफ्नै घरमा कस्मेटिक र पार्लर सञ्चालनमा थियो । ६ लाख लगानीबाट सुरु गरेको व्यवसायबाट उनले दैनिक ७ हजार सम्म आम्दानी गरी रहेकी थिइन् । तर, पछिल्लो ३ वर्षदेखि उनी गृहिणीको रुपमा रहेकी छिन् । घर र परिवारको  दोहोरो जिम्मेवारी भएपछि उनी व्यवसायीक जीवनबाट पलायन हुनुपर्यो । उप्रेती भन्छिन्,“परिवारको साथ, सहयोग भए मात्र महिलाहरू उद्यमी हुन सम्भव छ, नत्र नसकिँदो रहेछ”। आमा बनेपछि व्यवसाय सम्हाल्ने कि बच्चा समस्या भयो । त्यसैले व्यवसाय नै बन्द गरेँ । हुन त, विगतमा अमृता निजी संस्थानमा जागिरे पनि थिइन् । तर, आफ्नै व्यवसाय हुँदा आम्दानी र स्वतन्त्रता बेग्लै हुने भएकाले व्यवसायमा लागेकी थिइन् । उनको व्यवसाय प्रतिको लगाव अझै घटेको छैन, छोरी हुर्किएका पछि पुनः व्यवसाय गर्ने उनले बताइन् । 

ओमसतिया गाउँपालिकाकी ३३ वर्षीय गंगा राना अहिले क्यासीनोमा जागिरे छिन् । तर जागिर उनको रहर हैन बाध्यता हो । राना कस्मेटिक व्यवसायी थिइन् । जीवनको उर्वर समयको १० वर्ष उनले व्यवसायमा बिताइन् । ३ लाखको लगानीबाट उनले डल, कस्मेटिकको पसल सञ्चालन गरेकी थिइन् । त्यस समयमा उनले मासिक ३० हजार सम्म आम्दानी गर्ने गर्थिन् । श्रीमान् वैदेशिक रोजगारीमा आफू घरमा दुवैले राम्रै आम्दानी गरेर परिवार चलाइरहेका थिए । तर एक्कासी उनको जीवनमा बज्रपात आइलाग्यो । श्रीमानले अर्केसँग सम्बन्ध राखेपछि उनले औपचारिक सम्बन्ध बिच्छेद गर्नुपर्‍यो । घरपरिवार  विहीन उनले नाबालक सन्तान र आफ्नो व्यवसाय दुबैलाई हेर्न सकिनन् । व्यवसायमा लगानीको सुनिश्चिता र परिवारको सहयोग नभएपछि उनले आफ्नो व्यवसायलाई छोड्नुपर्‍यो । उनी भन्छिन्,“ व्यवसाय  एक्लैले नहुँदो रहेछ,। नियमित हेर्न नसक्दा आम्दानी घट्दै गयो, त्यसपछि धेरैले जागिर खाए आम्दानी थोरै भएपनि नियमित पैसा आउँछ भनेर सुझाव दिन थाले। नहुँदा हुँदै पनि व्यवसाय छाड्नुपर्‍यो ।” रानाले केही समयपछि पुनः व्यवसायमै फर्किने बताइन् ।

व्यवसायमा धेरै समय चाहिन्छ । घरधन्दा चलाउनु पर्ने भएकाले धेरै महिलाले व्यवसाय गर्न पारिवारिक सहयोग पाउँदैनन् ।  पारिवारिक कारणसँगै महिलाहरूको व्यवसायमा पहुँच नहुनुको अर्को कारण हो आर्थिक अवस्था । व्यवसाय खोल्न मात्र होइन अगाडि बढाउन पनि रकम चाहिन्छ । आर्थिक रुपमा परनिर्भर कतिपय महिला व्यवसाय बढाउन आफैले रकम खर्चन सक्दैनन् ।

 कतिपय आर्थिक अवस्था कमजोर भएकै कारण  महिलाहरू लगाव, इच्छा र मिहेनत हुँदा हुँदै पनि उनीहरू व्यवसायीक बन्न सकिरहेका छैनन् । तिनै मध्येको एक हुन् रुपन्देहीकी कमला न्यौपाने । विगत १ वर्षदेखि घरमै, अचार, सुत्केरी मसला बनाएर उनले आफ्नो परिवारलाई सघाउने प्रयासमा छिन् । न्यौपाने भन्छिन्, “व्यवसायीक रुपमा आफ्नै व्यवसाय गर्ने इच्छा त छ तर आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा गर्न सकिरहेकी छैन । सरकारका अनुदानका कार्यक्रम आए व्यवसाय थाल्थे । मलाई पनि आफू आर्थिक उपार्जन गरे परिवारलाई सघाउने इच्छा छ । ”

पछिल्लो समय उद्योग व्यवसायमा महिलाहरूको सङ्ख्या बढ्दै गएको छ । औपचारिक  शिक्षा लिएका नलिएका, आर्थिक रुपमा सम्पन्न होस  अथवा मध्यम वर्गीय परिवारका प्रतिनिधित्व गर्ने महिला व्यवसाय गर्न थालेका छन् । तर, पारिवारिक सहयोग नहुँदा कतिपय महिलाहरू भने व्यवसायबाट छिटै पलायन हुने गरेका छन् । पारिवारिक साथ हुनेहरूले भने निरन्तरता दिएका छन् ।

रुपन्देही जिल्लाको सबैभन्दा पुरानो व्यवसायीहरूको साझा संस्थाको रुपमा रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घकी पहिलो कार्यसमिति सदस्य यमकला न्यौपाने हुन् । उनले २०४५ सालामा किराना तथा खुद्रा व्यापार सुरु गरेकी थिइन् । अहिले पनि  व्यवसाय गरी रहेकी छन् । त्यसबेला व्यवसायी महिलाहरूको सङ्ख्या अत्यन्तै न्यून थियो । उनी भन्छिन्, “महिलाहरूले त्यो समयमा व्यवसाय गर्नु भन्ने कुरा अत्यन्तै न्यून रहेको थियो । तर, त्यतीबेला श्रीमानको साथले गर्दा नै हामी सफल भएका हौ । ” पहिला त महिलाहरू आफूले नै आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतना जगाउन पर्छ ।  लगानीको वातावरण भएको खण्डमा पक्कै पनि महिलाहरूको सङ्ख्यामा  वृद्धि हुने उनी बताउँछिन् । 

त्यस्तै २०५९ सालदेखि क्रियाशील रुपमा निरन्तर व्यवसाय गर्दै आएकी छन्  सिद्धार्थनगर नगरपालिका वडा नं ८ निवासी।पल्लबी न्यौपाने । ३ हजारको लगानीबाट शृङ्गार ब्युटी पार्लर नाम दिएर न्यौपानेले व्यवसाय गर्न सुरु गरेकी हुन् । निजी  विद्यालयमा शिक्षिका रहेकी उनी आफ्नै व्यवसाय गर्न भनेर घर परिवारलाई रिजाएर व्यवसायमा लागिन् । न्यौपाने भन्छिन्, “त्यो समयमा व्युटीसियनहरुलाई हेर्ने  दृष्टिकोण फरक थियो, गरिने व्यवहार फरक थियो, तर पनि परिवारको सहयोग र हौसलाले यहाँसम्म आइपुग्न धेरै मद्दत भयो । ” पल्लवी त्यो समयमा पनि आफूले दैनिक ६ हजार सम्म आम्दानी गरेको स्मरण गर्छिन् । हाल उनी राजनैतिक रुपमा समेत  सक्रिय छन् । उनका अनुसार व्यवसायमा महिला सङ्ख्या र निरन्तरता बढाउन महिलाहरू क्रियाशील भएर लाग्नु पर्छ ।   परिवारको सहयोग र आर्थिक  सुनिश्चिता आवश्यक छ । सरकारले पनि विशेष अनुदान र राहतका कार्यक्रम चलाउनुपर्छ । 

कतिपय उद्योग व्यवसाय महिलाका नाममा दर्ता त छन् तर सञ्चालन पुरुषले मात्रै गरेका छन् । घरेलु तथा साना उद्योग रुपन्देहीको तथ्याङ्क अनुसार हालसम्म १८ हजार ६ सय ९१ उद्योग दर्ता भएका छन् । उक्त संस्थाको २०७२/७३ को पछाडिको ११ हजार ९ सय ९५ उद्योग दर्ता  भएका छन् । त्यसमा ८ हजार ७६ पुरुषका नाममा दर्ता छन् ।  ३ हजार ९ सय १९ महिलाका नाममा दर्ता छन् । घरेलु तथा साना उद्योग रुपन्देहीका वरिष्ठ उद्योग अधिकृत मोहन परियारका अनुसार वाणिज्यतर्फ महिलाहरूको नामबाट दर्ता हुँदा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको कारण पनि महिलाहरूको नाममा दर्ता हुने गरेका हुन् । तर, उद्योगमा यस्तो अवस्था छैन । महिलाहरू उद्योग दर्ताको प्रक्रिया सोध्न आउने तर फर्कने गरेका उदाहरण पनि छन् । यसरी हेर्दा महिलाहरूको सम्पत्तिमा स्वामित्व, आर्थिक उपार्जनमा कम सक्रियता भएकै कारण  पनि महिलाहरू व्यवसायीक बन्न सकिरहेका छैनन् । 

सङ्ख्यामा महिला नेतृत्वमा न्यून

व्यवसायमा नै महिला कम भएपछि रुपन्देहीका व्यावसायिक संस्थामा समेत महिला नेतृत्व देखिँदैन । नेतृत्व त परको कुरा पदाधिकारी महिला बन्न पनि हम्मे छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा हाल सम्म कुल सदस्य सङ्ख्या करिब हजार सदस्य  रहेका छन् । जस मध्ये कूल सदस्यको वाणिज्यतर्फ १ हजार १ सय ६३, उद्योगमा ४ सय ८, र कर्पोरेटतर्फ १ सय १२ गरी जम्मा १ हजार ६ सय ८३ ले सदस्यता नवीकरण गराएका  छन् । जस मध्य २०७५ सालदेखि २०८१ सालसम्म उद्योगमा ९७, वाणिज्यतर्फ ३ सय ३२ र कर्पोरेटतर्फ ११ गरी जम्मा ४ सय ४० महिला सदस्य छन्  । हाल संस्थाको कार्यसमितिमा ५ जना महिला सदस्यहरु रहेका छन् । तर हाल सम्म एउटा पनि पदाधिकारीमा भने महिला नेतृत्व आउन सकेको अवस्था भने छैन । 

रुपन्देही उद्योग व्यापार सङ्घमा पनि त्यस्तै छ । सङ्घमा कूल सदस्य सङ्ख्या ४८ रहेको छ जस्मा पदाधिकारीमा १ महासचिव सहित सचिवालय सदस्य २ मात्र महिला रहेका छन् ।  रुपन्देही उद्योग सङ्घमा हाल १ हजार ८३ सदस्य सङ्ख्या रहेको छ ।  जसमध्ये ११४ जना महिलाहरू रहेका छन् । वर्तमान समयमा रहेको पदाधिकारीमा १ सचिव सहित २ जना कार्यसमिति महिलाहरू रहेका छन् ।  २०३५ सालमा स्थापना भएको उक्त संस्थाको सचिव मन्जु भुसालका अनुसार, दोहोरो जिम्मेवारीका साथै संस्था नेतृत्व गर्ने विषय हाल सम्म पनि प्रश्न चिह्न रहेको छ । महिलाहरूलाई वर्तमान समयमा पनि प्रत्येक पटक नेतृत्वमा आउन सङ्घर्ष रहेको उनको भनाई छ। 

बुटवल उद्योग वाणिज्य सङ्घमा पनि पदाधिकारी महिला बन्न सकेका छैनन् । बल्लतल्ल सह कोषाध्यक्षमा यसपालि धना खनाल पुगेकी छन् । यसमा आवद्ध भएका धेरै व्यवसायी महिलाहरू पनि टिकाउमा समस्या रहेको बताउँछन् ।  

लुम्बिनी प्रदेश सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भगवती अधिकारीले आफ्नो अधिनमा आर्थिक नहुँदा धेरै महिला मन भएपनि व्यवसायमा लाग्न र टिक्न नसकेको बताउँछिन् । उक्त मन्त्रालयको कार्यभार सम्हाल्दा लुम्बिनी प्रदेश सरकारको “लुम्बिनीका महिला आत्मनिर्भरता पहिला” भन्ने शीर्षकमै कार्यक्रम ल्याइएको बताइन्। अधिकारीले आमा बन्दा रोजगारी गुम्न नदिन मुख्य औद्योगिक र व्यवसायीक क्षेत्रमा श्रमिक लक्षित सामुदायिक शिशु स्याहार केन्द्र बनाउन  नीति तथा कार्यक्रम नै अघि बढाएको जानकारी दिइन् । प्रदेशमा रहेका ३३ जना महिला सांसदले निरन्तर रुपमा यो मुद्दालाई निरन्तरता दिन लागिपरिरहेको  कुरामा जोड्दिइन् । “आर्थिक रकम अभावमा उद्योग व्यवसाय गर्न नसकेका र पारिवारिक असहयोग वा शिशुका कारण निरन्तरता दिन नसकेका महिलालाई सघाउन सरकारी प्रोत्साहनका लागि लागेका छौँ ।” उनले भनिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button