तपाईँ सुन्दै हुनुहुन्छः

चीनको छेन्दुक विमानस्थलबाट सिचुवान एयरको विमान पोखरामा आज चार्टर्ड हुँदै

पोखरा । चीनको छेन्दुक विमानस्थलबाट सिचुवान एयरको विमान पोखरामा आज (बिहीबार) चार्टर्ड हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुक सहरबाट पोखरामा आज बिहान ९ः५० बजे सिचुवान एयरको विमान पोखरा आउने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जशोधा सुवेदीले बताउनु भयो ।

चीनबाट आएको उक्त विमान १०ः३० बजे काठमाण्डौं प्रस्थान गर्ने गरी अनुमति दिएको उहाँले जनाउनु भयो । पोखरामा अन्तर्राष्ट्र हवाई उडानको लागि पहल भई रहे पनि हालसम्म नियमित उडानको रुट नपाएको उपनिर्देशक सुवेदीले जनाउनु भयो । उक्त विमानमा पोखराबाट पर्यटन व्यवसायी, उद्योगी व्यवसायी सहित पत्रकारको एक टोली काठमाण्डौं जाने भएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

यही पुष १३ देखि १५ गतेसम्म पोखरामा सञ्चालन हुने दोस्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी हुन १ सय २९ जनाको चिनिया टोली पोखरा आउने भएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । उक्त टोलीमा ८ टिमका लागि ९६ जना खेलाडी बाँकी २९ जना अपिसियल तथा अतिथिहरू उक्त कार्यक्रममा सहभागी हुन आउने तयारी भएको उहाँले जनाउनु भयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षमा ९ वटा मात्र अन्तर्राष्ट्रिय चार्टर्ड फ्लाईट भएको छ । नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोर्ट फेस्टिभल अन्तर्गत गत वर्ष आयोजना भएको फेस्टिभलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड सुरु भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन भने सकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खेलको माध्यमबाट सुरु भएको चार्टर्ड २०८० मंसिर ७ गते हिमालयन एयरबाट ७४ जना खेलाडी सहितको १ सय ४ जनाको टिम चाइनाको कुनमिङ सहरबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यस पछि पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट फेस्टिभलका लागि गत असार ६ गते ७२ जना चिनियाँ पर्यटक तथा खेलाहरूलाई चार्टर उडानबाट पोखरा ल्याइएको थियो ।

पोखरामा चाटर्डसहित नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटन व्यवसायीहरूले माग गर्दै आउनु भएको छ । पोखराको पर्यटन क्षेत्रमा अबौंको लगानी भई रहँदा उद्देश्य अनुसार विमानस्थल सञ्चालन गर्न नसक्दा आफूहरू ठुलो आर्थिक मारमा पर्न थालेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button