तपाईँ सुन्दै हुनुहुन्छः

रुम्बाको शव पोष्टमार्टम पछि हत्या भएको पुष्टि

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ मा शनिबार भेटिएका राजकुमार रुम्बाको हत्या भएको पुष्टि भएको छ । शवको पोष्टमार्टम रिर्पोट आएपछि हत्या भएको खुलेको हो । 

उहाँको हत्या गोली प्रहारबाट भएको पुष्टि भएको छ । बारा प्रहरी प्रमुख महेन्द्र खड्काका अनुसार शव परिक्षणमा उहाँको शरीरमा गोली भेटिएको छ । सानो हतियारको प्रयोग गरेर सुनियोजित रुपमा रुम्बाको हत्या भएको भन्दै प्रहरी प्रमुख खड्काले हत्या कसले र किन गरेको हो भन्ने विषयमा अनुसन्धान तीव्र बनाइएको बताउनुभयो । 

गहन अनुसन्धानका लागि छुटै प्रहरी टोली परिचालन गरिएको खड्काले जानकारी दिनुभयो । मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी (भान्से) पदमा कार्यरत थिए । राष्ट्रिय अनुसन्धान बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीको कारमै रुम्बाको शव शनिबार बिहान भेटिएको थियो । इन्स्पेक्टर तिवारीको गाडी लिएर रुम्बा शुक्रबार राति साढे ९ बजे कलैयातर्फ निस्केका एक अधिकारीको भनाइलाई आधार मानेर अनुसन्धान थालिएको छ । 

मृतक रुम्बाको इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी थियो । तर उनी पछिल्लो समय सिमरा विमानस्थलको सुरक्षा गार्डमा कार्यरत थिए । रुम्बाको हत्याबारे अनुसन्धानका क्रममा प्रहरीले राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर तिवारीसँग पनि सोधपुछ गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button