तपाईँ सुन्दै हुनुहुन्छः

फैसलाको कार्यान्वयन हुनु महत्वपूर्ण पाटो : प्रधानन्यायाधीश राउत

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो ७४औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

यसै अवसरमा महान्यायाधिवक्ताको कार्यालयले कार्यालयको ७४औँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ताको कार्यालय र मातहतका निकायहरूले फौजदारी न्याय प्रणालीलाई गतिशिल र प्रभावकारी बनाई न्याय निरुपणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

प्रधानन्यायाधीश राउतले फैसलासँगै फैसलाको कार्यान्वयन हुनु महत्वपूर्ण पाटो भएकाले फैसलाको कार्यान्वयनमा सबै सरोकारवालाहरूको ध्यान अझ बढी केन्द्रित हुनुपर्नेमा पनि जोड दिनुभयो ।

स्वतन्त्र, निष्पक्ष र प्रभावकारी न्याय सम्पादनका लागि महान्यायाधिवक्ताको कार्यालयले कानुनको शासन स्थापनामा खेल्दै आएको भूमिकाले हौसला प्रदान गरेको उल्लेख गर्नुहुँदै प्रधानन्यायाधीश राउतले परिवर्तित विकासक्रम अनुसार अन्तर्राष्ट्रिय मापदण्ड र सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै न्याय सम्पादनमा सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

त्यसअवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अयजकुमार चौरसियाले सङ्घीयता कानुनलाई अझ प्रभावकारी बनाउन कानुन परिमार्जनको काम अघि बढिसकेको र अबको संसद् अधिवेशनमा त्यो पेश हुने बताउनुभयो ।

सामाजिक सञ्जालहरूबाट न्याय निरुपणमा दबाब दिने प्रवृत्ति मौलाउँदै जानु ठिक नभएको भन्दै कानुन मन्त्री चौरसियाले वर्तमान व्यवस्थाप्रति पनि नकारात्मक धारणा फैलाउने काम भइरहेकोमा त्यसप्रति सबै सजग र सचेत रहनु जरुरी रहेको बताउनुभयो ।

मन्त्री चौरसियाले वर्तमान व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्न सकिने भएकाले जनतालाई सकारात्मक परिवर्तनको अनुभूति दिने गरी काम गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

यस्तै, कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले अनुसन्धानकर्ता र निर्णयकर्ताको पुलको रुपमा काम गर्दै आएको महान्यायाधिवक्ताको कार्यालयको कामकाज न्याय सम्पादनका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

समारोहमा महान्यायाधिवक्ता रमेश बडाल, पूर्व महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठतम नायव महान्यायधिवक्ता डा.टेकबहादुर घिमिरेलगायतले न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै जनताले अनुभूत गर्ने गरी काम गर्नेतर्फ आफूहरू लागिरहेको बताउनुभयो ।

सोही समारोहमा महान्यायाधिवक्ताको कार्यालयले स्थापना दिवसका अवसरमा प्रदान गर्ने यस वर्षको सर्वोत्कृष्ट सरकारी वकिल सम्मानबाट सहन्यायधिवक्ता सूर्यराज दाहाल सम्मानित हुनुभयो । 

यस्तै, महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका विभिन्न स्थानमा कार्यरत अन्य १० जना सकारी वकिल तथा कर्मचारीलाई पनि सम्मान पत्रसहित सम्मानित गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button