भोलिदेखि पोखरामा बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुने
पोखरा । पर्यटनको राजधानी पोखरामा भोलि (मङ्गलवार) देखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ सुरु हुने भएको छ । पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पौष ०९ देखि १७ गते (डिसेम्बर २४ देखि जनवरी १ तारिख) सम्म आयोजना हुने उक्त महोत्सवको अन्तिम तयारी पूरा भएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले बताउनु भयो ।
९ दिन सञ्चालन हुने महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी हुनुहुने भएको उहाँले जनाउनु भयो । पोखराको आकाशमा एकै पटकमा १७ वटा हर्ट एयर बेलुन उड्ने भएको अध्यक्ष वाडेले जनाउनुभयो ।
पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरूको सहभागी हुने भएको आयोजकले जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको उक्त महोत्सवको स्थानीय संयोजकको रुपमा फेवा क्लब रहेको छ भने महोत्सव पोखरा २३ र २४ मा पर्ने फेवाफाँटमा हुने भएको हो । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको महोत्सवमा नेपालका चर्चित राष्ट्रिय देखि स्थानीय कलाकारको प्रस्तुती हुने भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनु भयो ।
महोत्सव अवधिमा बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म र बेलुका ४ः०० बजे देखि ०६ः०० बजे सम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान गर्नुहुने छ भने बेलुका ७ः०० बजे देखि ०८ः०० बजे सम्म बेलुन नाइट ग्लोः गरिने भएको प्रतियोगिताका संयोजक सविन महर्जनले बताउनु भयो । उक्त महोत्सवमा डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था गरिएको उहाँले जनाउनु भयो ।
महोत्सवमा हरेक दिन साङ्गीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल समेत हुने भएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन् क्रुज, बेली नृत्य लगायत थप स्थानीय कलाकार र व्यान्डले साङ्गीतिक प्रस्तुति दिने भएको परिषद्का अध्यक्ष पहारीले जनाउनु भयो ।
महोत्सवको विशेष आकर्षणको रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य, नाइट बेलुन ग्लोः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाण्डौंको कुमारी नृत्य र व्रज योगिनी लगायतका कार्यक्रम प्रस्तुत: हुने भएको आयोजकले जनाएको छ । महोत्सवमा डिसेम्बर २४ देखि २६ तारिकसम्म विभिन्न व्याण्ड सहितको प्रस्तुती रहने भएको छ भने महोत्सवमा २७ देखि ३१ तारिखसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ। जनवरी १ तारिखमा साङ्गीतिक कार्यक्रम प्रस्तुती सहित कार्यक्रम समापन हुनेछ । साथै महोत्सवमा विभिन्न खानाका परिकार सहितका अन्य केही स्टलहरू समेत रहने भएका छन् ।
बिवाईडी को मुख्य: प्रायोजनमा हुने महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रवर्द्धकमा रहेका छन् । यसैबिच, उद्घाटनको अवसरमा पुस ९ गते पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी समेत प्रदर्शन हुने भएको परिषद्का महासचिव जीवनराम सापकोटाले जनाउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्