मकैको खोयामा च्याउ खेती
दोलखा । चरिकोट पुराना बजारका युवा व्यवसायी श्रीराम श्रेष्ठले मकैको खोयामा च्याउ रोप्नुभएको छ । पहिलो पटक यो महिना मकैको खोयामा झण्डै २५ केजी च्याउ उत्पादन भएको श्रीरामले बताउनुभयो ।
पाँच बर्ष अघिदेखि परालमा च्याउ खेती गर्दै आउनुभएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर– ३ पुरानो बजारका व्यवसायी श्रीराम श्रेष्ठले परीक्षणको लागि पहिलो पटक मकैको खोयामा च्याउ खेती सुरु गर्नुभएको हो ।
एक पटक राखिएको मकैको खोयामा एक वर्षसम्म च्याउ खेती गर्न सकिने भएकोले युटुवमा हेरेर पहिलो पटक परीक्षणको रुपमा पाँच बोरा खोयामा च्याउ लगाएको उहाँ बताउनुहुन्छ । पहिलो पटक च्याउ काट्दा २५ केजी भएको उहाँले बताउनुभयो । “परालको भन्दा मकैको खोयामा लगाएको च्याउ केही स्वादिलो समेत भएकोले यसैलाई बढाउने तयारीमा छु ।”, उहाँले भन्नुभयो।
पहिले थोरै परालको पोकामा च्याउ खेती सुरु भर्नुभएका श्रीरामले अहिले परालको पोका मात्र तीन सय वटा पुर्याउनुभएको छ । अझ यसलाई बढाएर पूर्णरुपमा व्यवसायीक खेती गर्ने तयारीमा रहेका श्रीरामले बताउनुहुन्छ ।
उहाँ आफूले उत्पादन गरेको च्याउलाई केजीको दुई सयदेखि दुई सय ५० रुपैयाँसम्ममा चरिकोट बजारमै बिक्री गर्ने गर्नुहुन्छ । उत्पादन बढ्दै गएपछि बजार समेत विस्तार गर्ने श्रीराम बताउनुहुन्छ । “अहिले वार्षिक २÷३ लाखको च्याउ बिक्री गर्दै आएको छु”, श्रीरामले भन्नुभयो “बजार विस्तार भएपछि आम्दानी समेत बढ्ने अपेक्षा छ ।”
च्याउ खेतीको लागि श्रीरामलाई भीमेश्वर नगरपालिकाले केही आवश्यक मेसिन– औजार र प्राविधिक सहयोग दिएको छ । नगरपालिकाको थप सहयोग भए व्यवसाय विस्तारमा टेवा पुग्ने श्रीरामको अपेक्षा छ ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर नगर भित्रका व्यवसायीहरूलाई नगरपालिकाले सहयोग गर्दै आएको र त्यस्तो सहयोग व्यवसायको प्रकृति हेरेर बढाउँदै लैजाने बताउनुभयो । नगरभित्रका युवा व्यवसायीलाई नगरपालिकाले थप सहयोग गर्ने नगरप्रमुख मानन्धरको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्