विद्यार्थीहरूमा सकारात्मक सोच हुन जरुरी : पूर्व मन्त्री बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्यार्थीले समाज, परिवार, शिक्षा र भविष्यको बारेमा सकारात्मक सोच राख्न जरुरी रहेको बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेपलाञ्चोकको ३१औँ जिल्ला अधिवेशनको आज बनेपामा उद्घाटन गर्नुहुँदै पोलिटब्युरो सदस्य बाँस्कोटाले विद्यार्थीको समय भनेको समाज सिक्ने, परिवार सिक्ने, पढाई सिक्ने, आफ्नो भविष्यको बारेमा सोच्ने र मेहेनत गरेर राम्रो कुरा तथा सकारात्मक सोँच राख्ने समय भएको भन्नुहुँदै सकारात्मक सोचतर्फ नेपाललाई लैजानको निम्ति पनि विद्यार्थीहरूमा सकारात्मक सोच हुन जरुरी रहेको बताउनुभयो ।
एउटा इन्जिनियर राम्रो भएन भने राम्रो पुल बन्दैन, एउटा राम्रो डाक्टर भएन भने कसैको राम्रो उपचार हुँदैन, एउटा राम्रो प्रोफेसर भएन भने डाक्टरलाई गाइड गर्ने अर्को मान्छे हुँदैन भन्ने उदाहरण दिनुहुँदै पूर्व मन्त्री बाँस्कोटाले घर परिवारले हामीमाथि गरेको लगानीको सही सदुपयोग गर्नुका निम्ति पनि विद्यार्थीले आफ्नो सीप तथा क्षमता वृद्धिका लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले सही या गलत छुट्याउन पनि अध्ययन, भेटघाट तथा सामूहिक छलफलहरू निरन्तर भइरहन जरुरी रहेको बताउनुभयो । “सही र गलत पत्ता लगाउनुपर्छ, भेटघाट गर्नपर्छ, कुराकानी गर्नुपर्छ, कमिटीमा बस्नुपर्छ, छलफल गर्नुपर्छ र धेरैका कुरा सुनिसकेपछि के ठिक बेठिक छुट्याउन सकिन्छ ।”, उहाँले भन्नुभयो ।
उहाँले सबै हिसाबले देशलाई अगाडि बढाउन सक्ने जनशक्ति निमार्ण गर्न जरुरी रहेको बताउनुभयो । “हामीले देशलाई बुझ्ने समाजलाई चिन्ने के ठिक हो, के बेठिक हो भनेर पत्ता लगाउन सक्ने जनशक्ति निर्माण गर्नुपर्छ ।”, उहाँले भन्नुभयो ।
पोलिटब्युरो सदस्य बाँस्कोटाले देशलाई अगाडि बढाउन सक्ने जनशक्ति निर्माणको अभियानमा विगतदेखि नै अनेरास्ववियु लागिरहेको उल्लेख गर्नुहुँदै अनेरास्ववियुले अहिले विभिन्न क्षेत्रको जनशक्ति उत्पादन गर्दै सार्वजनिक विश्वविद्यालयको काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्