तपाईँ सुन्दै हुनुहुन्छः

दुलेगौडा–लिलाचोक सडकखण्ड स्तरोन्नतिका लागि केही दिन बन्द रहने

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लिलाचोक सडकखण्ड स्तरोन्नतिका लागि बन्द गरिने भएको छ । नगरको वडा नं ४, ८, ९ र १२ जोड्ने उक्त खण्डअन्तर्गत दुलेगौडा खैरेनीटार हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँपुलसम्म निर्माण भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द हुने नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सडक निर्माणका क्रममा हुनसक्ने जोखिम र गुणस्तरीयतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । 

त्यस अवधिसम्म ढोरवाराही मोटरमार्ग (गाछेपानी पुरानो पुल तिब्बतियन क्याम्प) को सडक प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । 

विश्व बैङ्कको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको सात दशमलव एक किलोमिटर सडकमा कालोपत्रेका लागि गत चैत २५ गते बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता भएको थियो । नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ मा यहाँ स्तरोन्नतिको काम भइरहेको बताउनुभयो ।  

वडा नं ४ दुलेगौडाबाट सुरु हुने कालोपत्र सडकले वडा नं ८, ९ र १२ वडालाई जोड्ने छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ । अन्य ठाउँमा नालासहितको कालोपत्र हुने इन्जिनियर भट्टराईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button