तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको पवटीबाट १२ करोडभन्दा बढीको सुन्तला निर्यात

दोलखा । सुन्तलाको गाउँ पवटीमा अहिले थोक बिक्रेताहरू धमाधम सुन्तला सङ्कलनमा जुटेका छन् । 

सुन्तलाको बोटमा फूल खेल्न थालेदेखि पुरै बगैँचा किन्ने थोक बिक्रेताहरू सुन्तला टिप्ने सिजन भएपछि सङ्कलनमा जुटेका हुन् । 

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर– १ मा पर्ने पवटीको अमले, रुखेनी, ढकाल गाउँ, काब्रे, च्याने, आचार्य टोल र कालीमाटीमा जिल्ला भरीमै सबैभन्दा स्वादिलो र धेरै सुन्तला उत्पादन हुने गरेको छ । 

गत बर्ष पवटीबाट करिब १२ करोडको सुन्तला निर्यात भएको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीका वडा सदस्य कमल बहादुर बुढाथोकी बताउनुहुन्छ । 

सुन्तलाको थोक व्यवसाय गर्दै आउनुभएका वडा सदस्य बुढाथोकी यो बर्ष पवटीबाट १२ करोडभन्दा बढीको सुन्तला निर्यात हुने बताउनुहुन्छ । “यो बर्ष सुन्तला उत्पादन केही घटेको छ, तर मूल्य बढेकोले सुन्तला निर्यातबाट पवटीका किसानहरुले गत वर्षको भन्दा बढी आम्दानी गर्न सक्नेछन्”–वडा सदस्य बुढाथोकीले भन्नुभयो । 

पवटीका अधिकांश किसानहरुले अहिले सुन्तला बिक्री गर्दै आएका छन् । एक जना किसानले सुन्तला बिक्रीबाट कम्तीमा ३० हजारदेखि सात लाखसम्म आम्दानी गर्दै आएको वडा सदस्य एवम् सुन्तलाका थोक बिक्रेता बुढाथोकी बताउनुहुन्छ । 

केही वर्षदेखि सुन्तलाको व्यवसायीक खेती सुरु गर्नुभएकी ठुली तामाङले यो बर्ष आफ्नो बगैँचाको सुन्तला दुई लाख ५० हजारमा बिक्री गर्नुभएको छ । गत बर्ष करिब दुई लाखमा सुन्तला बिक्री गरेकोमा यो बर्ष ५० हजार बढीमा बिक्री भएको ठुली तामाङले बताउनुभयो ।

ढकाल गाउँका स्थानीय किसान बिवराम ढकाल आफूले सुन्तलाको व्यवसायीक खेतीको लागि एक सय ४० बोट नयाँ बिरुवा लगाएको बताउनुहुन्छ । पुरानो ७०÷८० बोटमा फल्ने सुन्तला आफूले खाने, आफन्त र पाहुनालाई दिने गरेर बचेको २५÷३० हजारसम्ममा बिक्री गरेको ढकालको भनाई छ ।

पवटीको विभिन्न बगैँचामा पुगेर सुन्तला सङ्कलन गरिरहेका थोक बिक्रेता जीत बहादुर राउत यो बर्ष पवटीबाट आफूले झण्डै ३० लाखको सुन्तला खरिद गरेको बताउनुहुन्छ । रातोमाटो भएको र अधिकांश ठाउँ पारीलो रहेकोले दोलखा जिल्लामै पवटीको सुन्तला सबैभन्दा स्वादिलो हुने थोक बिक्रेता जीत राउत बताउनुहुन्छ । पवटीको सुन्तला दोलखाको विभिन्न बजार बाहेक काठमाडौँ, सिन्धुली र भारतमा समेत निर्यात हुने गरेको थोक बिक्रेता उहाँको भनाई छ । 

पवटीको सुन्तलालाई प्रवर्द्धन गर्दै उत्पादन वृद्धिको लागि मेलुङ गाउँपालिकाले बिरुवा खरिद, उपचार प्रविधि र प्राविधिक सहयोग गर्दै आएको पालिका प्रमुख हिरा कुमार थोकरले बताउनुभयो । किसानहरूकै सल्लाहमा पवटीको सुन्तला प्रवर्द्धन र उत्पादन वृद्धिमा के गर्न सकिन्छ पालिकाले निरन्तर सहयोग गर्ने प्रमुख थोकर बताउनुहुन्छ । 

पालिकाले गत बर्ष सुन्तलालगायत अमिलो जातिको फलफूलमा लाग्ने औँसा रोग नियन्त्रणको लागि बागमती प्रदेश अन्तर्गत बाली संरक्षण प्रयोगशालासँग समन्वय गरी किट्नासक औषधि र स्प्रे मेसिन उपलब्ध गराएको पालिकाको कृषि शाखा प्रमुख बिष्णु जिरेलले बताउनुभयो । 

यो बर्ष संघीय सरकारबाट सुन्तला पकेट विकास कार्यक्रम अन्तर्गत १२ लाख प्राप्त भएको र पालिकाले पाँच लाख छुुट्टाएकोले उक्त रकम वडा नम्बर–१ सँग समन्वय गरी पवटीका सुन्तला उत्पादक किसानसँगको समन्वयमा सुन्तला प्रवर्द्धन कै लागि खर्च गरिने कृषि शाखा प्रमुख जिरेल बताउनुहुन्छ । 

सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले हेर्पडको सहकार्यमा पवटीको सुन्तला खेती प्रवर्द्धनको लागि आर्थिक बर्ष २०८०÷०८१ मा १२ हजार दुई सय ६५ वटा सुन्तलाको बिरुवा निःशुल्क रुपमा वितरण गरेको परियोजना संयोजक फणिन्द्र चौलागाईले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button