चितवन राष्ट्रिय निकुञ्जभित्र अवैध गतिविधि गर्ने ६५ जना कारबाहीमा
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र अवैध गतिविधि गर्ने ६५ जना कारबाहीमा परेका छन् । गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको हो । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३, परेवा मार्ने एक र बिनाअनुमति निकुञ्ज प्रवेश गरी निहुरो टिप्ने आठ जनालाई निकुञ्जले पक्राउ गरेको हो ।
निकुञ्जभित्र प्रवेश गर्ने तथा नियम विपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । यसबीचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि सरोकारवालासँग छलफल गरिएको उहाँले बताउनु भयो ।
यस्तै पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुईवटा गैँडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो । गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भँगालोमा अन्दाजी ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको ध्रुव पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैँडा कालगतिले मरेको अवस्थामा फेला परेको थियो । कालगतिले मरेका दुवै गैँडा कालगतिको खाग र खुर सुरक्षित रहेको उहाँले बताउनु भयो ।
त्यस्तै मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा छ वर्षीय बाघ मृतावस्थामा भेटिएको थियो । अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ । यसअवधिमा गैँडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छभने चार जना घाइते भएको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्