झापामा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना घाइते
झापा । झापामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक र शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा परी तीनजनाको मृत्यु भएको हो । गएराति दमक नगरपालिका–१० को भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओमकुमारी राईको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका– ८ बस्ने २७ वर्षीय विराज थापाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा रोकिराखेको को २ त ४१४५ नम्बरको ट्याक्टरमा मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर–५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बूको उपचारको क्रममा बीएण्डी हस्पिटल बिर्तामोडमा मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार दमक–५ बस्ने ३५ वर्षीया अनिता राईको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिनु भयो ।
ट्याक्टर कालिका कन्स्ट्रक्सनको भएको र चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्