रोल्लर स्केट प्रतियोगिताः पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम
काठमाडौँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।
काठमाडौँको गल्फुटार स्केटपार्कमा दुई दिनसम्म चलेको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो । पुरुषतर्फ राजन मक्राती प्रथम हुनुभएको छ । यस्तै, सोहन गुरुङ द्वितीय र रोहन कुँवर तृतीय हुनुभएको आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी गराउनुभयो ।
उहाँहरुले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष खनालले बताउनुभयो ।
यस्तै, महिलातर्फ निर्जला श्रेष्ठ प्रथम, सन्ध्या मगर द्वितीय र निमिशा तामाङ तृतीय हुनुभएको छ । उहाँहरूले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएकोे महासचिव सत्य थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो दिन शनिबार दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागितामा छनोट चरणका खेलहरू भएका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएकोे छ ।
प्रतिक्रिया राख्नुहोस्