झापामा तीनवटा सवारीसाधन ठोक्किँदा घाइते भएका पाँचमध्ये एकजनाको मृत्यु
झापा I झापाको कमल गाउँपालिकामा हिजो एक अनियन्त्रित बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा घाइते भएका पाँच जनामध्ये एकजनाको आज मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका प्रदेश न १–०१–०२ ह ९०१ नम्बरको सिटी सफारी चालक दमक–९ बस्ने ५३ वर्षीय राम गुरागाईँको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिनुभयो ।
हिजो बिहान कमल गाउँपालिका ५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न. १–०१–०२ ह. ९०१ नम्बरको सिटी सफारीलाई ठक्कर दिएर पल्टिएको थियो ।
दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका–३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक नगरपालिका –९ बस्ने ५३ वर्षीय राम गुरागाईँ, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका–३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कार चालक सङ्खुवासभा थोतखोला गाउँपालिका–२ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका थिए ।
अन्य चारजना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्