महिला बन्दीहरूलाई ट्युबवेल तथा न्यानो कपडा वितरण
झापा । जिल्ला कारागार झापाको महिला बन्दी गृहमा रहेका महिला तथा बालबालिकालाई लक्षित गरी ट्युबवेल तथा न्यानो कपडा प्रदान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एबिसी नेपालको समन्वय र मानव अधिकारका लागि एकल महिलाको संयुक्त पहलमा वितरण गरिएको हो ।
बन्दी गृहको महिला विभागमा खानेपानी व्यवस्थापन अभाव हुँदै आएको थियो । सोही अभावलाई मध्यनजर गर्दै कारागार प्रशासनसँगको समन्वयमा ट्युबवेल तथा न्यानो कपडा र फलफूल प्रदान गरिएको हो ।
वितरण कार्यक्रममा एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा प्रमुख अतिथि पोखरेलले संविधानले प्रदान गरेको महिला अधिकारलाई उपलब्धीका रुपमा लिनुपर्ने बताउँदै संविधान अनुसार बनेको कानून कार्यान्वयनमा आए हिंसाका घटना कम भएर जाने बताउनुभयो । ५० जना क्षमताको महिला बन्दी गृहमा हाल २ बच्चासहित ९८ जना महिला बन्दी रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्