तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सम्बन्धी सांसदहरूसँग छलफल

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सम्बन्धी ‘डिस्याबलिटी राइट फन्ड’ को सहयोगमा प्रतिनिधि सभाका सांसदहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । 

‘अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वावलम्बन जीवन पद्धति केन्द्र’ द्वारा आयोजित कार्यक्रममा उप–प्राध्यापक तथा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जाति र पार्टी भन्दा माथि उठेर अपाङ्गताको मानव अधिकार सुनिश्चित गर्न आजैदेखि लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उद्घोष गर्नुभयो । 

सांसद रञ्जुकुमारी झाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्ति नै हुनुपर्ने नभएको भन्नुहुँदै व्यक्तिको विवेकमा भर पर्ने बताउनुभयो । 

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष टेक बहादुर गुरुङले संविधानमा भएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी प्रावधान स्पष्ट नभएको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार अल्पसङ्ख्यक, पिछडिएका वर्गसँगै राख्दा अपाङ्गता क्षेत्र पछाडि परेको बताउनुभयो । 

कार्यक्रममा सहभागीहरूले निर्वाचन ऐन र राजनीतिक दलको अधिकारमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार नेपालको संविधान (२०७२) मा स्पष्ट नभएको भन्दै सहभागीले अपाङ्गताको क्लष्टर नै राख्नुपर्नेमा जोड दिनुभएकाे थियाे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button