राष्ट्रिय सभा सदस्य निर्वाचन पछि संविधान संशोधन : महासचिव पोख्रेल
दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले संविधान संशोधनको काम डेढ वर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन पछि अघि बढ्ने बताउनु भएको छ। दाङको लमहीमा आइतबार नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले संविधान संशोधनको काम उचित समयमा सुरु गरिने बताउनु भयो ।

‘हामी दुई राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन । राजनीतिक स्थायित्वको आधार तयार गर्न संविधान र कानुनमा सुधार गर्ने गरी दुई ठूला दलको विचमा समीकरण बनेको हो’ उहाँले भन्नुभयो–‘राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन । दुई तिहाइ नपुग्दा सम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन । संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन । डेढ बर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ ।’
महासचिव पोख्रेलले एमालेलाई आगामी ८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिले देखिनै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले अहिले ठूला दुई दलको विचमा भएको समीकरणले मिलेर चुनाव लड्ने नभइ एक्लाएक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताउनु भयो । हालसालै सम्पन्न उप–निर्वाचनमा रुकुम पूर्वमा भएको जुन प्रकारको तालमेल सही नभएको महासचिव पोख्रेलले बताउनुभयो ।
गिरिबन्धु टि स्ट्रेट, कम्बोडियामा लगानीका विषयहरूमा भ्रम छर्नेहरू अहिले समस्यामा परेको भन्दै उहाँले भ्रमको खेती गर्नेहरूलाई कानुनले दण्डित गर्ने समेत बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्