तपाईँ सुन्दै हुनुहुन्छः

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्न सकिन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास र समृद्धि हासिल गर्ने बताउनुभएको छ । 

कास्कीको लेखनाथमा आजदेखि सुरु भएको २५औँ आर्दश कप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा खेल पर्यटनको धेरै सम्भावना भएको र यसैका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

विभिन्न खेल गतिविधिहरूलाई पर्यटनसँग जोड्दै समग्र प्रदेशको विकास गरिने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर भएको बताउनुभयो  । 

खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको भन्नुहुँदै उहाँले कर्भड हल र रंगशालाको स्तरोन्नतिको लागि प्रदेश सरकारले केही न केही आर्थिक सहयोग गर्ने बताउनुभयो । 

मुख्यमन्त्री पाण्डेले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको अवस्थामा अन्य क्षेत्रको साथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन आफूले चाहेको बताउनुभयो । प्रदेशभित्रका खेलकुद एवं पर्यटकीय पूर्वाधारहरू निर्माणमा प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पूर्णता नपाएको गुनासो गर्नुभयो । 

६ वर्षपछि सुरु भएको आर्दश कपमा ८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष पदम गुरुङले बताउनुभयो । 

उद्घाटन खेलमा भने आयोजक आर्दश युवा क्लबले एन्फा तनहुँलाई १—० ले पराजित गरेको छ । आदर्शका सजिन मगरले खेलको ४१ औँ मिनेटमा गोल गरे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button