‘अपाङ्गता भएकालाई रोजगारीसँग जोड्न जरुरी’
पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सार्वजनिक र निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकाहरूलाई कसरी जोड्ने भनेर लागिपरेको बताउनुभएको छ ।
नेत्रहीन युवा सङ्घको आयोजनामा ललितपुरमा भएको अपाङ्गता भएका युवाको राष्ट्रिय सम्मेलनको आज समापन समारोहमा मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सेदार भएको बताउनुभयो । “यो सम्मेलन सरकारलाई नीतिगत सुधारका लागि सुझाव दिन महत्वपूर्ण छ, यहाँबाट बनेको घोषणापत्र तपाईँहरूको हितका लागि नीति, बजेट तथा कार्यक्रम तय गर्न सरकार तत्पर छ, यो सम्मेलन अधिकार प्राप्तिको लडाइँको पहिलो चरण हो”, उहाँले भन्नुभयो ।
सम्मेलनले तय गरेको नीतिगत सुझावका आधारमा रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका युवाको हित प्रवद्र्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री भण्डारीले बताउनुभयो । आर्थिक सक्षमता नभएसम्म नागरिक सफल हुन नसक्ने उहाँको भनाइ थियो ।
“हामी श्रम ऐन र रोजगार ऐनको संशोधन तथा व्यवस्थापनमा लागेका छौँ, सार्वजनिक निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकालाई कसरी जोड्ने भनेर लागेका छौँ, रोजगारदाताको मागअनुसारको तालिम दिएर सीप विकास गर्न सक्छौँ, रोजगारदातालाई रोजगारी खोज्नेसँग कसरी जोड्ने भन्ने विषयमा ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले अब चुनौतीलाई मात्रै सम्झने नभइ त्यसको समाधान गर्न कार्यान्वयनमा जाने बेला भएको उल्लेख गर्नुभयो । “एक्काइसौँ शताब्दीमा सबैलाई समानरुपले अवसर प्रदान गर्नुपर्छ, अपाङ्गता भएका व्यक्ति हाम्रै परिवारका सदस्य हुन्, उहाँहरू सबैलाई सहायता गर्न ठूलो र फराकिलो तरिकाले सोच्नुपर्छ, नेपालले कसैलाई पछाडि नछोडाँै भन्ने अभिप्रायले योजना तय गर्ने नीति लिएको छ, हामीले मन र मस्तिष्कलाई बदलेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
हरेक बालबालिका कुनै अवरोधबिना विद्यालय जान सक्ने, सरकारी सेवा सुविधा पाउनसक्ने र स्वास्थ्य सेवा लिनसक्ने बनाउनुपर्ने उल्लेख गर्दै आवासीय प्रतिनिधि सिङ्गरले लिफ्ट बनाउनु, ¥याम्प बनाउनुले मात्रै अपाङ्गतामैत्री सेवा पर्याप्त नभएको भन्दै सेवा प्रवाह पनि अपाङ्गतामैत्री हुनुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । समावेशी शिक्षा परिवर्तनको जग हो भन्दै उहाँले अपाङ्गता भएकाहरू पनि अन्य बालबालिकासरह बसेर बढ्न सकुन् भन्नुभयो ।
नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले समाजमा अपाङ्गता किन बढ्दैछ भनेर सोच्नुपर्ने अवस्था आएको छ भन्नुभयो । उहाँले अपाङ्गताको समस्या र यस सम्मेलनबाट बनेको घोषणापत्र संसद्मा प्रस्तुत गरेर कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सांसद राजन दाहालले सम्मेलनमा बिचार विमर्शबाट तयार भएको घोषणापत्र कार्यान्वयन गर्न लागिपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरूको सहजताका लागि कानुन संशोधन र राज्यलाई जिम्मेवार तथा जबाफदेही बनाउन भूमिका खेल्ने बताउनुभयो ।
सांसद रेखा यादवले संविधान संशोधनका बेलामा अपाङ्गता भएकाहरूको आवश्यकतालाई सम्बोधन गर्न आवाज उठाउने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई आवासीय विद्यालयको व्यवस्थाका लागि आवाज उठाउने भन्दै उहाँहरूको समस्या मेरै समस्या हो भन्ने सम्झेर अधिकार सुनिश्चितताका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेत्रहीन युवा सङ्घका अनुसार सङ्घमा आठ सयभन्दा बढी दृष्टिविहीन युवा आबद्ध छन् । देशमा समग्र जनसङ्ख्याको दुई दशमलव १० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेको सो अवसरमा जानकारी दिइयो ।
बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको सम्मेलन ३४बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
प्रतिक्रिया राख्नुहोस्