खेलको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासका लागि आधारभूत पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि प्रदेश सरकारले पहल लिने बताउनुभएको छ ।
अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बुधवार भएको भेटमा मुख्यमन्त्री आचार्यले क्रिकेट मैदान, प्रशिक्षण केन्द्र, खेल पूर्वाधारको विकास र स्तरोन्नतिका लागि प्रदेश सरकारले पहल लिने बताउनुभयो ।
उहाँले विद्यालय तहमा क्रिकेट खेल प्रशिक्षण कार्यक्रम चलाउन र युवा खेलाडी प्रतिभाहरूको खोजी गर्न जरुरी रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले क्रिकेट खेलसँगै अन्य खेल क्षेत्रको विकासको लागि पनि प्रदेश सरकारले समान रुपमा प्राथमिकता दिने, पूर्वाधार निर्माण गर्ने र खेल अवसरहरूको खोजी गर्ने बताउनुभयो ।
अर्घाखाँची जिल्लामा माघ १ गतेदेखी पाँचौँ अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता हुदैछ । यो प्रतियोगिता सम्बन्धमा क्रिकेट संघका अध्यक्ष भट्टराईले मुख्यमन्त्री आचार्यलाई जानकारी गराउनुभएको थियो । प्रतिनिधि मण्डलले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमलाई समेत भेट गर्दै खेल प्रतियोगिताबारे जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्