तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक विपन्नताका कारण ९० प्रतिशत दलित बालबालिका स्कुल छाड्न बाध्य

बीरगंज । आर्थिक विपन्नताका कारण पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा रहेका दलितबस्तिका ९० प्रतिशत भन्दाबढि दलित बालबालिका विद्यालय छाड्न बाध्य भएका छन् । 

विद्यालय भर्ना समयमा भर्ना हुने र त्यसपछि कक्षा५ देखि ८ सम्म मात्र अध्ययन गरेपछि विद्यालयबाट बाहिरिने क्रम बढ्दो छ । यसो हुनुको मुख्य कारण गरिबी रहेको नेपाल राष्ट्रिय मावि, बर्वाछटैली पर्सागढीका प्रधानाध्यापक रामबहादुर क्षेत्रीले बताउनुभयो । पर्सागढी नगरपालिकाको १ देखि ९ वटा वडामा दलितबस्ती छन् र त्यहाँका ९० प्रतिशत बालबालिकाहरू विद्यालय जाँदैनन् ।

सुरुमा भर्ना हुने तथा धेरैजसो दुई/तीन कक्षामै पढाइ छाड्ने र केहीले मात्र कक्षा ५ देखि ८ सम्म अध्ययन गर्ने गरेको पाइएको छ । नगरपालिकामा चारवटा माध्यमिक विद्यालय रहेका छन् , जसमा एकजना पनि दलित विद्यार्थी छैनन् । नेपाल राष्ट्रिय मावि, बर्वाछटैलीका प्रधानाध्यापक रामबहादुर क्षेत्रीले आफ्नो विद्यालयमा कक्षा १० सम्म एकजना पनि दलित विद्यार्थी नरहेको बताउनुभयो । 

यसैगरी, नेरामावि, बडेर्वाका प्रअ चेतमनदास थारू, जनता मावि, पकडिया बडनियारका मोहन चौधरी र यसै वर्षदेखि माविमा स्तरवृद्धि भएको नेरामावि, बहुअर्वासिराका प्रअ रामाशीष यादवले पनि आफ्नो विद्यालयमा दलित विद्यार्थी नरहेको जानकारी दिनुभयो  । पर्सागढी नपाका वडा नम्बर १ मनवा, २ बागवन्ना, ३ बडनिहार, झबराहा, ४ बकनेर्वा, ५ हर्दिया, ६ चैनपुर, ७ टिकुलिया, ८ हरपुर र ९ बडेर्वामा दलित समुदायका मुसहर, राम, पासवान, माझी, डोम जातिको बस्ती रहेको छ । 

बडेर्वाका रामजनम माझीले  दलितहरूको नम्बरी जग्गा नभएको र आफूहरू सार्वजनिक ऐलानी जग्गामा बस्नुपरेको बताउनुभयो । आर्थिक विपन्नताका कारण बालबालिकाहरूलाई विद्यालय पठाउन नसकेको उहाँको भनाइ छ । १०–१२ वर्षको उमेरमा बालकहरू घर बाहिर ज्याला मजदुरीमा खट्ने गरेका र बालिकाहरू घर व्यवहारमा लाग्ने गरेका माझीले  बताउनुभयो । विद्यालयमा टिकाउ नहुनुको कारण आर्थिक समस्या नै मुख्य रहेको उहाँले बताउनुभयो । परिवारका सदस्यहरूले नकमाएपछि खान पनि समस्या हुने गरेकोले बालबालिकालाई विद्यालय पठाउनुको साटो आय हुने अन्य काममा खटाउने गरेको गुनासो माझीको छ । 

पर्सागढी नगरपालिकाले दलितहरूको उत्थानको लागि खासै प्रभावकारी कदम नचालेको दलित समुदायको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button