विश्व कप क्रिकेटको लागि पोखरामा आवश्यक भौतिक संरचना राज्यले बनाउँछ: मन्त्री चौधरी
पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनाको अन्तिम सातामा हुने बताउनु भएको छ । आज (बुधबार) पोखरा रंगशालाको अवलोकन पश्चात् पत्रकारसँग कुराकानी गर्दै मन्त्री चौधरीले दशैं खेलकुद फागुन महिनाको अन्तिम सातामा हुने दाबी गर्नु भएको हो ।
उहाँले सबै खेलकुदका संघ संस्था तथा खेलकुदकर्मीहरूलाई आफ्नो तयारीमा जुट्न आग्रह गर्दै ढुक्क भएर आफ्नो तयारीमा लाग्न आग्रह गर्नु भएको छ । सुर्खेतमा हुने उक्त प्रतियोगिताको भौतिक संरचना निमार्णमा केही ढिलाइ भएकोले मंसिरमा गर्न नसकिएको प्रष्ट पार्दै मन्त्री चौधरीले पूर्वाधारको हिसाबले केही ३/४ खेल भने पोखरामा हुन सक्ने समेत बताउनु भयो ।
केही दिनमा बस्ने बोर्डको बैठकले दशौं खेलकुद प्रतियोगिताको मिति तोक्ने भएको उहाँले जनाउनु भयो । सन् २०२७ मा यू–१९ महिला वर्ल्ड कप क्रिकेट प्रतियोगिता नेपाल र बङ्गलादेशमा हुने भए पनि केही खेलको लागि पोखरामा सञ्चालनको लागि पोखरा क्रिकेट मैदानमा आवश्यक भौतिक संरचना निर्माण गर्न सरकार तयार रहेको उहाँले बताउनु भयो । पोखरामा ५ करोड बजेट अभावले गर्दा वर्ल्ड कप पोखरामा हुने नहुने अन्यौलमा भन्ने समाचारले आफु केही दिनदेखि चिन्तित भएको उल्लेख गर्दै मन्त्री चौधरीले सके यस बर्ष रकमान्तर गरेर भए पनि अन्यथा आउँदो वर्षमा बजेट नै विनियोजन गरी क्रिकेट मैदानको आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । अर्थमन्त्री र प्रधानमन्त्री समक्ष सन २०२७ को विश्व कप नेपाल र पोखरामा हुने विषयमा आफूले राम्रोसँग बुझाउने उहाँले जनाउनु भयो ।
नेपालले धेरै बर्ष देखि नतिजा नदिने खेलहरूमा पनि ठुलो लगानी गर्दै आएको दाबी गर्दै मन्त्री चौधरीले अब पदक नदिने खेललाई कम प्राथमिकता दिने आशय व्यक्त गर्नुभयो ।
उहाँले भन्नु भयो “कर्णालीमा खेलकुदका संरचना छैनन्, त्यहाँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पनि पुगेको छैन भन्ने गलत बुझाइ भएको छ, राज्यले करोडौँ लगानी गरेको छ ।”
खेलकुद मन्त्रालयमा कम बजेट भएकोमा मन्त्री चौधरीले आगामी बजेट खेलकुदमा बढाउने दाबी गर्नुभयो । ४ महिनामा खेलकुदको बारेमा धेरै कुरा बुझेको उल्लेख गर्दै उहाँले आउँदो बर्ष देखि खेलकुदमा बजेट बढाउने बताउनु भयो । पोखरा रंगशाला अन्य रंगशाला भन्दा धेरै फरक भएको बताउँदै मन्त्री चौधरीले पोखरा रङ्गशालामा धेरै खेलहरू हुने देशकै नमुना रंगशाला हुने दाबी गर्नुभयो ।
पोखरा रंगशालाको विभिन्न खेलकुदका संरचना सहित खेल मैदानहरूको बारेमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी गराउनु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्