तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारसँगको अन्तरक्रिया विराटनगरमा शुरु

विराटनगर । वैदेशिक रोजगारमा गएका श्रमिकको क्षेत्रमा काम गर्ने नेपाल सरकारको आधिकारिक निकाय वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारसँग पनि अन्तरक्रिया तथा छलफल थालेको छ ।

सो कार्यक्रम अन्तर्गत मङ्गलवार बाट ३ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम विराटनगरमा शुरु भएको छ । कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवार तथा आफन्तजनहरूको सहभागिता रहको छ ।

नेपालमा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई समस्या परेको बेला नेपाल सरकारको कुन निकायमा सम्पर्क गर्ने भन्ने विषयमा नेपालका ग्रामीण क्षेत्रमा रहेका युवाहरू तथा कतिपय पालिकाहरू पनि अलमलमा परेकोले त्यस सम्बन्धमा नेपालमा भएका श्रमिकका आफन्त तथा परिवारलाई पनि जानकारी गराउने उद्देश्यले रोजगार बोर्डले गत आर्थिक वर्षदेखि देशका विभिन्न स्थानमा गएर यस्ता कार्यक्रमको आयोजना गर्न थालेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्धारिका उप्रेतीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा जाने युवाहरूलाई कुनै समस्या परेमा, झुटा मुद्दा लागेमा, दुर्घटनाबाट घाइते अपाङ्ग भएमा रोजगार बोर्डले सहयोग गर्ने तथा कुनै कारणले मृत्यु भएको अवस्थामा सव व्यवस्थापनदेखि राहत उपलब्ध गराउने सम्मका काम गर्ने उप्रेतीले बताउनुभयो ।

यस वर्ष मात्रै ५ हजार युवालाई विभिन्न सीपमूलक तालिम दिन लागिएको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले नेपालबाट केही सीप सिकेर वैदेशिक रोजगारीमा गएका युवाहरूले राम्रो आम्दानी गरिरहेको बताउँदै घर परिवारबाट पनि आफन्त,छोरा/छोरी लाई सीप सिकेर मात्र पठाउन आग्रह गर्नुभयो ।

तीन दिन सम्म सञ्चालन हुने अन्तरक्रिया कार्यक्रमबाट आएका सुझावहरूलाई कार्यान्वयन गर्न बोर्डले नेपाल सरकार समक्ष कार्यान्वयनको लागि सिफारिस गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button