तपाईँ सुन्दै हुनुहुन्छः

मृगौलासम्बन्धी रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिने परीक्षण अभियान सञ्चालन गरिने मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको छ । 

मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गर्नुभएको हो । 

मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरू जनस्तरमा पुर्‍याउने गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गर्नुभएको थियो । 

सोही अनुरुप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गर्नुभएको हो । 

अहिले देशैभर मृगौलासम्बन्धी रोगबाट पीडित भएर डायलासिस हुने बिरामीको सङ्ख्या बढिरहेको छ । सङ्ख्या बढेका कारण भएका डायलासिस गराउने संरचनामा दबाब परिरहेको छ । 

यसैगरी खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नु परिरहेको छ । 

‘बिरामी भए पछि हुने उपचारका लागि हामीले ठूलो श्रोत साधन खर्चनु परिरहेको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँग सँगै लाग्नेछौँ ।’ 

उहाँले सुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठूलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित श्रोत साधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मृगौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको देखाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button