उपनिर्वाचनमा हालसम्म ५५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग
काठमाडौँ I स्थानीय तह उपनिर्वाचन अन्तर्गत नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनमा हालसम्म करिब ५५ प्रतिशत मत खसेको छ ।
हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थानमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
काठमाडौँमा कीर्तिपुर नगरपालिका नगरप्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी रहेको छ । कीर्तिपुर नगरपालिका नगरप्रमुखमा करिब ४८ प्रतिशत अर्थात् १५ हजार ९ सय ३२ मत खसेको छ ।
जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि भइरहेको मतदानमा हालसम्म ९ हजार ५ सय ७३ मत खसेको छ भने कुसे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ८ सय ७७ मत खसेको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि जारी मतदानमा ४१ प्रतिशत अर्थात् ३ हजार ६० मत खसेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो । स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७ हजार ४ सय ५८ रहेको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष पदकालागि जारी निर्वाचनमा हालसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको हाम्रा संवाददाताले जनाएका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ७ सय ३३ मत खसेको छ । वडामा चार हजार ९१ मतदाता रहेका छन् ।
गोरखा नगरपालिका वडा नम्बर ५ मा जारी उपनिर्वाचनमा अहिलेसम्म १ हजार २ सय २० मत खसेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाअध्यक्ष पदका लागि जारी उपनिर्वाचनमा अहिलेसम्म ४४ प्रतिशत अर्थात् २ हजार ४ सय ६ जनाले मतदान गरेका छन् । उक्त वडामा ५ हजार ४ सय ३४ मतदाता रहेका छन् ।
उदयपुर जिल्लाको बेलका नगरपालिका ९ नम्बर वडा अध्यक्ष पदमा हालसम्म १ हजार ६ सय ९२ मत खसेको छ, भने त्रियुगा नगरपालिकामा वडा नम्बर १२ मा ११ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा अहिलेसम्म एक हजार १ सय जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी उपनिर्वाचन भइरहेका अन्य विभिन्न स्थानीय तहमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदान स्थलमा आवश्यक मात्रमा सुरक्षा कर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह उप निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया राख्नुहोस्