तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक ऋण अहिले नेपालको हितमा छैन : नेता साउद

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताउनुभएको छ । 

बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपालको ऋण लिने सक्ने सामर्थ्य नरहेकाले सरकारले अनुदान मात्रै लिनुपर्ने बताउनुभयो । चिनियाँ परियोजना बिआरआईको विषयमा आफ्नो धारणा राख्दै उहाँले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको  बताउनुभयो । 

“नेपालको अर्थतन्त्रले दबाब र चापमा काम गरिरहेको परिस्थितिमा थप ऋण लिन हुँदैन । ऋण लिन सक्ने नेपालको सामर्थ्य नभएकाले छिमेकी राष्ट्रहरूबाट हाम्रो प्राथमिकताको पक्ष अनुदान र सहयोग हो, हामी ऋण थप्ने पक्षमा छैनौँ”, नेता साउदले भन्नुभयो । आसन्न उपनिर्वाचनमार्फत जनताले सरकारबाट पाएको सेवा सुविधाको मूल्याङ्कन गर्ने उहाँले बताउनुभयो । गत आमनिर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरूको कारबाही फुकुवा गर्नेबारे केन्द्रमा छलफल चलिरहेको नेता साउदले बताउनुभयो । 

कांग्रेसको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधिका रुपमा नेता साउदसँगै खटिनुभएका केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आङ्गेलु शेर्पाले पार्टीको साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अभियान प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । यसले आगामी दिनमा काँग्रेसलाई थप मजबुद र सबै तहका साङ्गठनिक गतिविधि प्रभावकारी हुने विश्वास छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button