तपाईँ सुन्दै हुनुहुन्छः

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रुपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच  कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्ध विरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी गराउनुभएको थियो । उहाँले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमा समेत लैजान सकिने बताउनुभयो । 

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button