नेपाली चलचित्रलाई पर्यटन उद्योगसँग जोडेर काम गरौँ : राष्ट्रपति
चलचित्र दीर्घ साधना सम्मानबाट वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह सम्मानित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्रलाई नेपालको पर्यटन उद्योगसँग जोडेर काम गर्न कलाकर्मीहरूलाई आग्रह गर्नुभएको छ ।
चलचित्र विकास बोर्डले आज राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले चलचित्र क्षेत्रको विकासबाट नेपालको समृद्धिको यात्रा तय गर्ने सवालमा नेपाल सरकारले आवश्यक नीति नियम सहित आवश्यक पूर्वाधार तथा श्रोत साधन जुटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले ठूला ठूला विषयवस्तु भन्दा गाउँ-समाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताउनुभयो ।
पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नवीनता र सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाइमा पुर्याउने पनि बताउनुभयो ।
राष्ट्रपति पौडेलले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको उल्लेख गर्नुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा चलचित्र क्षेत्रलाई महत्वपूर्ण अङ्ग बनाउने गरी सरकार लागिरहेकाले त्यसमा सहयोग गर्न सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको समग्र विकासका लागि नयाँ चलचित्र ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहलाई सम्मान गर्नुभयो । सो सम्मान पुरस्कारको राशि ३ लाख ७५ हजार रुपैयाँ नगद रहेको छ । सोही अवसरमा चलचित्र विशेष योगदान सम्मान र विशेष चलचित्र पुरस्कारबाट विभिन्न चलचित्र र चलचित्रकर्मीहरूलाई पनि सम्मान गरिएको थियो ।
विशेष योगदान सम्मानबाट सुरेन्द्रमान तुलाधरलाई मरणोपरान्त प्रदान गरियो । ५० हजार रुपैयाँ सहितको सो सम्मान स्वर्गीय तुलाधरकी धर्मपत्नी अनिता तुलाधरलाई प्रदान गरिएको थियो ।
यस्तै विशेष योगदान सम्मान बाट सम्मानित हुने अन्य कलाकारहरूमा तैयव शाह, केशव प्रसाद रायमाझी, विद्या कार्की, नारायण प्रधान, नरेन्द्र महर्जन, नन्दकिशोर श्रीवास्तव, भोजबहादुर गुरुङ, अमुल कार्की ढली, ध्रुवकुमार श्रेष्ठ, बुद्धि तामाङ र सविता गुरुङ रहनुभएको छ ।
यस्तै समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चलचित्र पुरस्कारबाट विभिन्न १० वटा विधामा विभिन्न चलचित्र र चलचित्र कर्मीहरूलाई सम्मानित गर्नुभयो ।
विशेष चलचित्र पुरस्कार प्राप्त गर्नेमा चलचित्र बुलाकी विभिन्न ३ वटा विधामा पुरस्कृत भएको छ भने चलचित्र टुल्की र दिमाग खराब २÷२ वटा विधामा पुरस्कृत भएका छन् ।
यस्तै विशेष चलचित्र पुरस्कारबाट सम्मानित हुने अन्य चलचित्रमा महाजात्रा, प्रसाद भाग २, गुरुङ भाषाको चलचित्र मार्कली, र लिम्बु भाषाका चलचित्रहरू लोजिमा र चलचित्र सुगु रहेका छन् । ती सबै पुरस्कारको राशि २५ हजार नगद रहेको छ ।
तस्वीरः राष्ट्रपतिको कार्यालय
प्रतिक्रिया राख्नुहोस्