इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई मन्त्री तिमिल्सिनाको निर्देशन
बाँके । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कर्मचारीहरूलाई इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन बाँकेको आयोजनामा बुधबार नेपालगन्जमा आयोजित बधाई, स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री तिमिल्सिनाले कर्मचारीहरूको सहयोगबिना अपेक्षाकृत काम गर्न नसकिने बताउनुभयो।
उहाँले भन्नुभयो, जहाँ काम गर्नुहुन्छ, त्यहाँ इमानदार भएर काम गर्नुस् ,जनतालाई सेवा दिनुस । कर्मचारी सरुवामा हुने पहुँचप्रथालाई रोक्नुपर्नेमा जोड दिँदै उहाँले जिम्मेवारीमा बसेपछि इमानदार भएर काम गर्नुपर्ने बताउनुभयो।
मुलुकको राजनीतिक परिप्रेक्ष्यबारे बोल्दै मन्त्री तिमिल्सिनाले दुई ठूला दल, नेपाली कांग्रेस र एमाले, मिलेर मुलुकलाई स्थिरता दिनु जनताको आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, मुलुक अब कसैको छलकपट र झूटमा चल्दैन ,नागरिकलाई सहज सेवा दिनु जनप्रतिनिधि र कर्मचारी दुवैको दायित्व हो।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले मन्त्रीलाई सफल बनाउन कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले बाँके-बर्दियाको विकास निर्माणमा मन्त्रीसँग सहजीकरणको आग्रह गर्नुभयो। काँग्रेसका उपसभापति कृष्ण कार्कीले कर्मचारीहरूले नागरिकहरूलाई सुशासन र विश्वास दिनुपर्ने बताउनुभयो।
लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले युनियन आवद्ध कर्मचारीहरूलाई नागरिकमुखी सेवा दिन सुझाव दिनुभयो। प्रदेशसभा सदस्य सुशीला वादीले देशलाई असल बाटोमा लैजान कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्