तपाईँ सुन्दै हुनुहुन्छः

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विदेशिने क्रम बढ्दै

भक्तपुर । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विदेशिने क्रम बढ्दै गएको जनाएको छ ।

यस वर्षको असोजसम्म मात्रै २८ हजार विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएको आयोगका सदस्य सचिव प्रा.शङ्कर प्रसाद भण्डारीले बताउनुभयो ।

सदस्य सचिव भण्डारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख १२ हजार २६९ जना विद्यार्थी अध्ययनका लागि विदेश गएको देखिन्छ । उनीहरूबाट एक खर्ब १७ अर्ब ५८ लाख रुपैयाँ अध्ययन शुल्क तथा व्यक्तिगत खर्चको लागि विदेशिएको उहाँले बताउनुभयो ।

यसैगरी गत आर्थिक वर्ष २०७९/०८० मा एक लाख दश हजार २१७ जना विद्यार्थी अध्ययनका लागि विदेश गएको सदस्य सचिव भण्डारीले बताउनुभयो । उनीहरूमार्फत एक खर्ब ४२ करोड ३३ लाख रुपैयाँ अध्ययन शुल्क तथा व्यक्तिगत खर्चका लागि गएको तथ्याङ्कले देखाउँछ ।

आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी र ठुलो धनराशी बाहिरिने प्रवृत्तिलाई कम गर्न चुनौती देखिएको बताउनुभयो ।

उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेशिने प्रवृत्तिलाई उचित तवरले सम्बोधन गर्न आवश्यक व्यवस्थापकीय नीति अवलम्बन गरी अगाडि बढ्नुपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button