उपप्रधान मन्त्री सिंहद्वारा अस्पतालको भवन शिलान्यास
भक्तपुर । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको दोस्रो चरणमा बन्न लागेको सुविधा सम्पन्न आधुनिक भवनको शिलान्यास गर्नुभएको छ ।
दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन लागिरहेको भवनको शिलान्यास गर्दै उहाँले रोग लाग्नु भन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताउनुभयो ।
आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समय दिनुपर्ने बताउँदै उहाँले रोग लाग्नु अगाडि नै समय समयमा ल्याब परीक्षण गरेर आफ्नो स्वास्थ्यबारे चासो दिनुपर्ने बताउनुभयो ।
मन्त्री सिंहले नेपाल र कोरियाबिचको सम्बन्ध राम्रो रहेको बताउँदै यो अस्पतालले दुई देशको सम्बन्ध सुधारमा अझै भूमिका खेलेकाले अस्पतालले दिने सेवा गुणस्तरीय र सुलभ हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेसका सभापति दुर्लभ थापाले नेपालकै पहिलो नगर अस्पतालको रुपमा स्थापना भएको यस अस्पतालले उत्कृष्ट अस्पताल बनाउन मेडिकल टिमदेखि सबै कर्मचारीले सेवालाई चुस्त राख्नुपर्ने बताउनुभयो ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत ताईयोङ्ग पार्कले कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा यसअघि पनि सहयोग पुर्याउँदै आएको स्मरण गर्दै यो अस्पतालको स्थापनाकालदेखि हालसम्म कोरियाको सहयोग निरन्तर रहेको बताउनुभयो ।
नगर प्रमुख एवं कार्यक्रमका सभापति सुरेन्द्र श्रेष्ठले कोरिया सरकारको करिब १ अर्ब २८ करोड बराबरको सहयोगमा निर्माण हुन लागेको अस्पतालले गत वर्ष १ लाख ९२ हजार बिरामीलाई सेवा दिई नेपाल सरकारको सेकेण्डरी बि अस्पतालको रुपमा स्तरोन्नति गर्न न्यूनतम स्वास्थ्य सेवा मापदण्ड पुरा गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्