बागमतीमा सचिव गैह्रे र केसीलाई दोहोरो जिम्मेवारी
हेटौँडा । बागमती प्रदेश सरकारका दुई सचिवलाई थप एक–एक वटा मन्त्रालयको जिम्मेवारी तोक्ने आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सचिवहरू बद्रीनाथ गैह्रे र राजेन्द्रकुमार केसीलाई दोहोरो जिम्मेवारी तोकिएको हो ।
गैह्रे सामाजिक विकास मन्त्रालय र केसी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हुनुहुन्छ । मन्त्रिपरिषद् बैठकले गैह्रेलाई युवा तथा खेलकुद मन्त्रालय र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनु भयो ।
सचिव अभाव भएकाले दोहोरो जिम्मेवारी दिनु परेको मन्त्री लामिछानेले बताउनु भयो । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास परिषद् सदस्यमा ललितपुरका रवि महर्जन, मकवानपुरका सङ्गीत श्रेष्ठ, चितवनका नवीना खनियाँ र रामेछापकी कल्पना खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को शासकीय सुधार तथा सुशासन सम्बन्धी मन्त्रालयगत प्रगति प्रतिवेदनलाई समष्टिगत रुपमा बागमती प्रदेशसभामा पेश गर्ने निर्णय गरेको मन्त्री लामिछानेले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली–२०८१ लाई स्वीकृति दिने निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्