पहिलो चौमासिकमा आन्तरिक राजश्व कार्यालय भद्रपुरको राजश्व सङ्कलन ८३.३८ प्रतिशत
झापा । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले लक्ष्यको ८३.३८ प्रतिशत राजश्व सङ्कलन गरेको छ ।
झापाको माई पूर्व तथा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला सेवा क्षेत्र रहेको कार्यालयले चालु आ. व. को पहिलो चौमासिक साउन, भदौ, असोज र कात्तिक महिनामा कुल ८६ करोड ३३ लाख ६७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्य एक अर्ब तीन करोड ५४ लाख ३४ हजारको ८३.३८ प्रतिशत रहेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनु भयो ।
यस अवधिका कार्यालयले आयकरतर्फ २९ करोड ३६ लाख ७१ हजार, घर बहाल कर ४७ लाख ६० हजार, ब्याजबाट तीन करोड ४७ लाख ८५ हजार, मूल्य अभिवृद्धि कर ३२ करोड २७ लाख ५९ हजार, अन्तःशुल्कबापत २० करोड १२ लाख ३२ हजार, स्वास्थ्य सेवा कर बापत २७ लाख, स्वास्थ्य सेवा कर बापत पाँच हजार र अन्य शीर्षकमा ३४ लाख ५६ हजार राजश्व सङ्कलन गरेको काफ्लेले बताउनु भयो । उहाँले कार्यालयले मूल्य अभिवृद्धि करतर्फ लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको बताउनु भयो ।
स्मरण रहोस्, आन्तरिक राजश्व कार्यालय भद्रपुर आ. व. २०८०/०८१ को मूल्याङ्कनमा सर्वोत्कृष्ट भई यस वर्षको कर राष्ट्रिय कर दिवसको अवसरमा मंसिर १ गते पुरस्कृत भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्