बाढि पहिरोबाट विस्थापित १ सय ८ परिवारका लागि पक्की घर निर्माण
बाजुरा । बाजुराको पुर्वोत्तरी क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–६ पाल्त्याडीमा बाढी पहिरोबाट विस्थापित १ सय ८ परिवारलाई सरकारद्वारा पक्की घर निर्माण गरिएको छ ।
घर निर्माणसँगै उक्त क्षेत्र ‘नमुना बस्ती’का रुपमा स्थापित भएको छ। तीन ओटै तहका सरकारको संयुक्त ५४ करोड लागतमा पाल्त्याडीमा बनाइएको यो जिल्लाकै एकीकृत नमुना बस्ती हो । २०७९ असोज २२ देखि २४ गतेसम्मको अविरल वर्षाले गाउँपालिकाका ६ वटै वडाहरूमा धनजनको क्षति गरेको थियो । जमिन पहिरोका कारण थिलाथिला भएपछि १सय ८ परिवार विस्थापित भएका थिए ।
विस्थापित परिवारको पुनर्स्थापना गर्न जगन्नाथ गाउँपालिकाले एकीकृत नमुना बस्तीको अवधारणा अनुसार प्रदेश र संघ सरकारसँग समन्वय गरेर प्रक्रिया अघि बढाएको थियो । संघ सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय तहको १० प्रतिशत अनुदानमा नमुना बस्ती निर्माण गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्