पर्साका किसानलाई गहुँ छर्न भ्याई नभ्याई
वीरगंज । पर्सा जिल्लाका किसानहरूलाई अहिले गहुँ छर्ने चटारोले भ्याई नभ्याई भएको छ ।
धानबाली भित्र्याईसकेपछि अहिले पर्सामा गहुँ छर्ने बेलामा भने किसानहरूलाई मल र बीउ बिजनको समस्या देखिएको छ । धान भित्र्याएका किसानहरू अहिले खेतको माटो सम्याएर धानको झारपात हटाउँदै गहुँको बीउ छर्ने काममा जुटेका छन् ।
पर्सा जिल्लाको थरुहट क्षेत्रमा गहुँका साथै मकै, आलु, दलहन र तेलहनका साथै सुर्ती खेती पनि गरिन्छ । दुई बाली धान र एक बाली गहुँ खेती हुने थरुहट क्षेत्रका अधिकांश किसानले धानबाली भित्र्याइसकेका छन् र उनीहरू अहिले गहुँका साथै मकै, आलु, दलहन र तेलहनका साथै सुर्ती खेतीमा व्यस्त छन् । तीन बाली हुने यहाँका किसानहरूले पालिकाबाट सहुलियतमा पाउनुपर्ने बीउ पाएका छैनन् । अधिकांश पालिकाले अहिलेसम्म गहुँको बीउ खरिद समेत नगरेको किसानहरूको गुनासो छ ।
पर्सामा पालिकाहरुले सहुलियतमा एनएल र गौतम जातका गहुँको बीउ वितरण गर्ने भएपनि यो बीउमा भने किसानहरूको विश्वास कम रहेको छ ।
नेपाली बीउ किसानहरूको रोजाइमा नपरेको कारण छिमेकी भारतीय बजारमा पुगेर श्रीराम ३०३ खरिद गरेर छर्ने गरेको पर्सा बिरुवा गुठीका किसान भुवन पौडेलले बताउनुभयो । यो बीउ भारतीय बजारमा भारु ६५ मा पाइने गरेको पौडेलले जानकारी दिनुभयो ।
स्थानीय पालिकाहरुले किसानहरूलाई आवश्यक भएको बखत बीउ वितरण नगर्ने र गरेभनेपनि आफ्ना मतदाता किसानलाई प्राथमिकता दिने हुँदा अधिकांश किसान पालिकाबाट प्रदान गरिने बीउको भर पर्दैनन् । थरुहट क्षेत्रमा तीन बाली हुने भएपनि जिल्लाको अन्य क्षेत्रमा भने धान र गहुँ गरी दुई बाली लगाइने गरिन्छ । पर्सामा गहुँसँगै थोरै मात्रामा आलु, दलहन र तेलहनको खेती गरिँदै आएको छ ।
धानपछिको प्रमुख बाली गहुँ हो र अहिले यहाँका किसानहरूले बीउ बिजनसँगै मलको अभाव पनि झेलिरहेका छन् । सहकारीहरूले किसानलाई आवश्यक भएको बखत गोदाम खाली देखाएर फर्काउने गरेका छन् । नेपाली किसानहरू अहिले सीमावर्ती भारतीय बजारबाट आवश्यक युरिया, डिएपी र पोटास खरिद गरेर गहुँ बालीमा छरेका छन् । भारतमा डिएपी नेपालको तुलनामा महँगो पर्दछ ।
नेपालमा डिएपी मलको ५० किलो बोराको रु २,हजार ६ सय ५० पर्छ भने भारतमा ४५ किलो बोराको रु २ हजार ८ सयमा खरिद गर्नुपर्छ । युरिया भने नेपालको तुलनामा भारतमा सस्तो रहेको छ । नेपालमा कृषि सामाग्री कम्पनीले प्रतिबोरा ८५० तोकिएको छ भने सहकारीहरूले रु ९०० मा बिक्री गर्दै आएका छन् । भारतमा भने युरिया ७५० प्रतिबोरा खरिद गरेर ल्याएको जगरनाथपुर गाउँपालिका– वडा नम्बर ४ का किसान खिद्रिस मियाँले जानकारी दिनुभयो ।
यता वीरगंज स्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयको गोदाममा वीरगंज क्षेत्रका लागि १६ हजार ८०४ मेट्रिकटन युरिया मल मौज्दात भएपनि किसानहरूलाई वितरण नगर्दा समस्या देखिएको छ ।
कम्पनीका प्रवक्ता पुरुषोत्तम सिंहले युरियाको मौज्दात मल वीरगंज सहित राजविराज, लहान, जनकपुर, ढल्केबर, चन्द्रपुर, नवलपुर र कलैयाका डिपोहरूमा पठाउनु पर्ने बताउनुभयो ।
यसैगरी, मधेस प्रदेशका आठवटा डिपोहरूमा डिएपी १२ हजार ६ सय ४३ मेट्रिक टन मल मौज्दात रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्