‘अनावश्यक खर्च कटौती गर्दै पूँजीगत खर्च बढाउनुपर्छ’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्च कटौती गरी पूँजीगत खर्च बढाउनुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफलमा उहाँले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्ने बताउनुभयो ।
उहाँले एकै प्रकृतिका संस्थाहरू केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नुपर्ने बताउनुभयो । राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिई पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।
स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै प्रदेश र स्थानीय तहले गर्नसक्ने कामलाई उनीहरूको क्षमताको आधारमा केन्द्रले अधिकारहरू दिँदै जानुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले असल अभ्यासहरूलाई अन्यत्र लैजाँदै ठूलो पुँजीलाई मात्र नभई साना पुँजीलाई पनि प्रोत्साहन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्दै तत्काल लोकप्रिय हुने कार्यक्रम भन्दा दीर्घकालीन कार्यक्रम अगाडि सार्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्