जनकपुरधामका संस्थागत विद्यालयहरू चौथो दिन पनि बन्द
जनकपुरधाम । जनकपुरधामको संस्थागत विद्यालयहरूको पठन पाठन आज पनि ठप्प भएको छ । शुल्कको विषयलाई लिएर विद्यालयका सञ्चालकहरूले विद्यालय बन्द गरेपछि चौथो दिन पनि जनकपुरधामको विद्यालयहरू बन्द रहेको छ ।
विद्यालयहरू बन्द भएका कारणले जनकपुरधामको संस्थागत विद्यालयहरूमा अध्ययनरत रहेका हजारौँ विद्यार्थीहरू पढ्नबाट वञ्चित भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले शुल्कको विषयमा गरेको वार्ता सहमतिमा नपुगेपछि आज पनि विद्यालयहरू बन्द रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ र १२ मा उपमहानगरपालिकाले लिएको छात्रवृत्तिको परीक्षामा उत्तीर्ण भएर सिफारिस भएका १० प्रतिशत विद्यार्थीहरूबाट रजिष्ट्रेशन तथा परीक्षा शुल्क बाहेक अन्य शुल्क नलिन तथा लिएका शुल्क पनि फिर्ता गर्नका लागि कार्तिक १५ गते परिपत्र जारी गरेपछि विद्यालयका सञ्चालकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका छन् ।
यसैबीच जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले आफूहरूले संघीय कानून अनुसार नै छात्रवृत्ति पाएका विद्यार्थीहरुवाट शुल्क नदिनका लागि पत्राचार गरेको र यो आम जनताको पक्षमा निर्णय भएको बताउनु भयो ।
सञ्चालकहरूले संस्थागत विद्यालयहरू बन्द गरेका कारणले विगत चार दिन देखि विद्यार्थीहरूले नीजि तथा संस्थागत विद्यालयमा पढ्न पाएका छैन । संस्थागत विद्यालयहरू बन्द भएपनि सामुदायिक विद्यालयहरूमा नियमित रुपमा पठनपाठन भइरहेको जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्