तपाईँ सुन्दै हुनुहुन्छः

आत्मनिर्भरताको बाटो पहिल्याउँदै सामुदायिक विद्यालय

सल्यान । देशका अधिकांश सामुदायिक विद्यालय आर्थिक रुपमा समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेका छन् । शैक्षिक गुणस्तर देखि भौतिक संरचनामा समेत सामुदायिक विद्यालयको अवस्था दयनीय छन् । तर केही सल्यानका यस्ता सामुदायिक विद्यालयहरू पनि जो आत्मनिर्भरताको बाटोमा लम्किरहेका छन् । सरकार र समुदायको भरमा मात्र आत्मनिर्भर बन्ने अवस्था नरहेपछि आत्मनिर्भरका उपाय अपनाउँदै अघि बढ्न थालेका छन् । 

२०४५ सालमा स्थापना भएको जिल्लाको सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरमा रहेको निराजन माध्यमिक विद्यालय झण्डै तीन दशक आर्थिक अभावमा गुज्रियो । विद्यालयको आफ्नै स्रोत नहुँदा विद्यालय सञ्चालनमा समस्या थियो नै, स्तरीय शिक्षा र सक्षम विद्यार्थी उत्पादनमा पनि चुनौती थपिएको थियो । २०७८ साल असोजमा विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले निराजन माध्यमिक विद्यालय आत्मनिर्भर अभियान सञ्चालन गरेपछि यस विद्यालयले हाल आर्थिक क्षेत्र सुदृढ गर्दै लगेको छ ।

प्रधानाध्यापककै भत्ताबाट आत्मनिर्भर अभियान सञ्चालन गरेको करिब ३ वर्षमा विद्यालयको खातामा झण्डै पचास लाख रुपैयाँ सङ्कलन भएको छ । प्रधानाध्यापक घर्तीले अभियान सञ्चालन गरेयता विभिन्न निकायबाट विद्यालयमा ४४ लाख ५१ हजार २५१ रुपैयाँ जम्मा भई सकेको छ । यो रकम विद्यालयको उन्नयन र विकासका लागि भएको उहाँको भनाइ छ ।

‘सामुदायिक विद्यालय कहिलेसम्म अभावै अभावमा चल्ने ? विद्यालयको आर्थिक स्रोत के ? विद्यालयलाई कसरी आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउने ? यस्ता प्रश्न मनमा खेलिरहन्थे, विद्यालयलाई व्यवस्थित र शैक्षिक गुणस्तरलाई सुधार गर्दै दिगो कसरी बनाउने भन्नेमा सानो प्रयासबाट थालनी भयो, सबैले सहयोग गर्नुभयो, करिब ३ वर्षमा ४४ लाख बढी विद्यालयको खातामा जम्मा भइसकेको छ, यसलाई ५० लाख बनाउने हाम्रो लक्ष्य छ  प्रधानाध्यापक घर्तीले भन्नुभयो ‘सबै रुपैयाँ मुद्धति खातामा रहन्छ, वार्षिक रुपमा आएको व्याजले विद्यालयमा विभिन्न कार्य सञ्चालन गर्छौ । 

बैङ्कबाट आएको व्याजले जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ति दिने, शैक्षिक उन्नयन र उत्पादनका क्षेत्रमा लगानी गर्ने गरेको उहाँको भनाइ छ  । कक्षा १२ सम्म सञ्चालित यस विद्यालयमा हाल  छ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

कपुरकोट गाउँपालिका–५ रिममा रहेको जीवन ज्योति नमुना माध्यमिक विद्यालयले जीवन ज्योति स्वावलम्बी उत्थान कोष सञ्चालन गरेको करिब २ महिना भयो । यो अवधिमा विद्यालयको स्वावलम्बी उत्थान कोषमा ११ लाख ३ हजार ५९० रुपैयाँ सङ्कलन भइरहेको छ । कोषमा अहिलेसम्म सबैभन्दा बढी ५९ हजार ९९९ सम्मको रकम नगद सहयोग एउटै व्यक्तिबाट प्राप्त भएको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक भुपाल साहुले विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न, अनाथ र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शैक्षिक सुधारमा टेवा पु¥याउने उद्देश्यका साथ कोष अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘शिक्षक, विद्यार्थी र अभिभावक बिचको त्रिपक्षीय सहकार्यबाट मात्रै विद्यालय स्वावलम्बी बन्छ भन्ने हाम्रो निष्कर्ष रह्यो, सोही अनुसार २ वर्षमा ५० लाख रुपैयाँ कोषमा सङ्कलन गर्ने हाम्रो लक्ष्य छ उहाँले भन्नुभयो ।

सङ्कलित रकमको व्याजमध्ये विपन्न विद्यार्थी लागि १५ प्रतिशत, अनाथ विद्यार्थीका लागि १५ प्रतिशत, अपाङ्गता भएका विद्यार्थीका लागि ५ प्रतिशत, जेहेन्दार विद्यार्थीका लागि १५ प्रतिशत, शैक्षिक गतिविधिका लागि ३० प्रतिशत, दीर्घ रोगी र असहाय व्यक्तिका लागि ५ प्रतिशत, नव प्रवर्द्धन तथा खेलकुदका लागि १० प्रतिशत र कोष वृद्धिका लागि ५ प्रतिशत व्याज रकम खर्च गरिने प्रधानाध्यापक साहुको भनाइ छ ।

विद्यालयका पूर्व विद्यार्थी पूर्व शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, समाजसेवी, विभिन्न सङ्घसंस्थाहरू र अभिभावकहरूबाट कोषमा सहयोग प्राप्त गरिरहेको साहुले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसले विद्यालयको आर्थिक क्षेत्र बलियो भएन, त्यसैले विद्यालयलाई आर्थिक रुपमा बलियो बनाउने र सक्षम विद्यार्थी उत्पादनमा जोड दिन कोष अभियान थालिएको हो । ‘

प्रतिक्रिया राख्नुहोस्

Back to top button