उखुको समर्थन मूल्य प्रतिक्विन्टल ७ सय १० तोक्न कृषकको माग
नवलपरासी पश्चिम् । उखु क्रसिङको सिजन सुरु भइसकेकाले समर्थन मूल्य तत्कालै तोक्न पश्चिम नवलपरासीका उखु उत्पादक किसानले माग गरेका छन् । प्रत्येक वर्ष समर्थन मूल्य तोक्न ढिलाइ हुने गरेको छ ।

पछिल्लो समय लागत मूल्य समेत बढ्दै गएकाले यतिखेर किसानले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ७ सय १० रुपैयाँ तोक्न माग गरेका छन् । केही किसानले उखु काट्न सुरु गरिसकेको र धेरैजसो किसानले समर्थन मूल्य कुरेर बसेकाले काटेका छैनन् । मूल्य तोक्न ढिलाइ हुँदा उखु काटेका किसानले पुरानै मूल्यमा भेली उद्योग र चिनी उद्योगलाई उखु विक्री गर्न बाध्य छन् ।
हरेक वर्ष किसानले यही माग लिएर आन्दोलन गर्नुपर्ने अवस्था आउँदा समेत सरकारले समयमा नै मूल्य नतोक्दा समस्या बढेको उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयो ।
यस वर्ष नवलपरासीमा करिब २० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान छ । केही वर्ष पहिले १२ हजार हेक्टरमा हुँदै आएको उखु खेती अहिले ५ हजार हेक्टरमा सीमित भएको छ । उखुको लागत मूल्य बढी र समयमा भुक्तानी नपाइने समस्याले उखु उत्पादक कृषकहरू केरा खेतीमा लागेका छन् । यद्यपि, भारतीय केराले बजार पाउँदा किसान यसबाट समेत सन्तुष्ट हुन सक्ने अवस्था छैन ।







प्रतिक्रिया राख्नुहोस्