तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा वढाङ्मेट रौनक सुरु, पापानी चाड भोलिबाट

धनकुटा । धनकुटा यतिबेला स्थानीय बाजागाजा, गीतले झकिझकाउ भएको छ । धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेट (मङ्सिर चाड) मनाउन व्यस्त रहँदा धनकुटा स्थानीय बाजा गाजाले सुसज्जित भएको हो ।

आफ्नो इष्ट देवताको पूजा सहित खानपिनले धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको आठपहरिया जाति वढाङ्मेट चाड मनाउन व्यस्त भएका हुन् । वडाङ्मेट भनेको पानी चढाउनु रहेको बताइन्छ ।

आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी तिहारको भाइटिका देखि सुरु भई मङ्सिरको औँसीसम्म मनाइन्छ । यो जातिको वैशाखे, भदौरे र मङ्सिरे गरि तीनमध्ये यो महत्त्वपूर्ण चाड हो । यो चाडमा दुःखबाट उक्सिने, घरको जेठो छोरो जन्मिएकोमा तथा नयाँ घर निर्माण गरेकोमा हर्षोल्लास मनाउने चलन छ । भाइटिकामा घरघरमा जमरा राखेर तथा भैलो खेलेर चाडको सुरुवात हुन्छ ।

त्यसपछि कार्तिक शुक्ल एकादशीका दिन बेलुका धनकुटा नगरपालिका वडा नं. ५ स्थित ठूलो घर (५२ चुले घर) मा विशेष पूजा गरी चाड औपचारिक रुपमा वडाङ्मेट सुरु हुने गर्दछ । द्वादशी तिथिबाट भने चाडको रौनक सुरु हुने गरेको छ । द्वादशी तिथिमा वर्षभरिमा आमा वा बाबु गुमाउनेले धनकुटाबाट २ दिन हिँडेर सुनसरीको बराह क्षेत्र नजिकै रहेको कोकाहा खोलामा पुगेर केश दाह्री मुण्डन गरि दसी बगाउने चलन रहेको छ । कोकाहा खोलामा कपाल दाह्री खौरिएर नुवाएर बराह भगवानको दर्शन गर्ने र देउता आफ्नो घरमा लिएर आउने प्रचलन रहेको छ ।

पापानी चाड मङ्गलवारबाट
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरू पापानी चाड मङ्गलवारदेखि सुरु हुँदैछ । कार्तिक पूर्णिमा पछिको पहिलो मङ्गलवार पापानी पर्व सुरु हुन्छ ।

चाड सुरु भएपछि मुन्धुम विदले खुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पूजा गर्दै ६ दिन ६ रातसम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । पापानी पर्वमा किरात राईहरूले कुलदेवता खुढाहाङको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गरेका छन् । यो पर्व कुल देवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको छ ।

पापानीको अवसरमा कार्तिक पूर्णिमा पछिको पहिलो मङ्गलवारदेखि एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरक फरक दिन मेला लाग्ने गरेको छ भने सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको छ ।

धनकुटा नगरपालिकाका आठपहरिया र सहिद भूमिका राई जाती साँस्कृतिक धरोहरको रुपमा आआफ्नो चाडपर्व मनाउने गरेका छन् । यसको संरक्षणमा राज्यले अन्य पर्वको जस्तो चासो नदिएको उनीहरूको गुनासो छ । अन्य जातजातिको भन्दा फरक कला संस्कृति भए पनि यसको प्रचारप्रसार तथा संरक्षणमा सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button