तपाईँ सुन्दै हुनुहुन्छः

खस सङ्ग्रहालय निर्माणमा परम्परागत शैलीभन्दा कंक्रिट संरचनामा जोड

जुम्ला । खस भाषा साहित्य र परम्परा झल्किने संरचना निर्माण गर्ने लक्ष्यसहित जुम्लाको सिंजा गाउँपालिका–२ बिष्टबाडा गाउँमा ‘सिंजा खस सङ्ग्रहालय शिलान्यास गरी निर्माण थालियो । २०७६ साल असार ६ गते शिलान्यास गरिएको खस सङ्ग्रहालय जुम्लाको परम्परागत घर ‘रातो सेतो कमेरोले पोतेको, माटोकै छानो भएको, ढुङ्गा माटोको प्रयोग गरिएको संरचना बन्ने अपेक्षा थियो । 

सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक सम्पदाहरू झल्किने, जुम्ली पहिचान झल्काउने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले सङ्ग्रहालय बनाउन थालिए  पनि हाल उद्देश्य विपरीत कङ्क्रिट संरचना मात्रै बनेका छन् । 

निर्माण थालनी भएको ६ वर्षको अवधिमा वर्षेनी संघ तथा प्रदेश सरकारले विनियोजन गरेको लाखौँ बजेट खर्चिएर खस सभ्यता जोगाउने, जुम्ली पहिचान झल्काउने नाममा कंक्रिट संरचना मात्रै बनाइएको छ ।

नाम खस सङ्ग्रहालय भए पनि संरचना सबै आधुनिक बनेका छन् । कूल ४ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको सङ्ग्रहालयमा हालसम्म सिमेन्ट प्रयोग गरिएकै पक्की पर्खाल, जस्ता पाता छाएको पक्की भवन दुई वटा र ढलान गरिएको भवन एउटा निर्माण गरिएको छ । झट हेर्दा कुनै पनि दृष्टिले खस सङ्ग्रहालय जस्तो देखिन्न । 

पर्यटकहरूले खस सङ्ग्रहालय घुम्न आउँदा परम्परागतभन्दा आधुनिक घर मात्रै देख्ने स्थिति छ । यसले गर्दा सभ्यता जोगाउने भन्दा मेटाउने कार्यलाई सरकारी पक्षले नै प्रशय दिइएको देखिन्छ । 

कर्णाली प्रदेश सरकार र भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा संग्राहलय निर्माण हुन थालेको हो । जसमा २०७६ सालमै नेपाल सरकार उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको ५० लाख सहयोगमा खस सङ्ग्रहालय बनाउने काम सुरु भएको थियो । जसमा पछिल्लो वर्षमा सिंजा गाउँपालिकाले पनि लगानी गरिरहेको छ ।

२०७६ सालमा संघीय सरकारबाट विनियोजन ५० लाख मध्ये २० लाख डीपीआरमा खर्च भयो । बचेको ३० लाखमा ४ हजार वर्ग मिटर क्षेत्रमा पक्की पर्खाल निर्माण गरिएको छ । 

पछिल्लो वर्षमा गाउँपालिकाको २५ लाख लगानीमा पुस्तकालय भवन निर्माण गरिएको छ । उपभोक्ता समितिका सचिव महेन्द्र राज तिवारी पुस्तकालय भवन निर्माणमा २५ लाख विनियोजन भएकोमा खर्च २८ लाख भएको र ३ लाख घाटा भएको बताउनुहुन्छ । 

त्यस्तै गाउँपालिकाकै आठ लाख लगानीमा स्थानीय परम्परागत भवन निर्माण गरिएको छ । उक्त भवन दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । साथै ५१ लाख लगानीमा सङ्ग्रहालय भवन निर्माण गरिएको छ ।  कर्णाली प्रदेश सरकारको १० लाख र सिञ्जा गाउँपालिकाको ४१ लाख लागतमा निर्माण गरिएको उपभोक्ता समिति सचिव तिवारीले उल्लेख गर्नुभयो । 

हालसम्म विभिन्न संरचना निर्माणका लागि तीनै तहका सरकारको एक करोड ३४ लाखभन्दा  बढी बजेट खर्च भइसकेको छ । खस सङ्ग्रहालयका नाममा पक्की भवन बन्नु गलत भन्दै तिवारी लगायतका केही स्थानीय सुरुवाती देखि नै आलोचना गर्दै आउनुभएको थियो । तर संघ प्रदेशबाट आउने बजेट र स्टमेटले नै कंक्रिट संरचना बनेका छन् । 

आएको बजेट फिर्ता पठाउनुभन्दा बाध्य भएर कंक्रिट संरचना बनाएका छौँ । सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव समेत रहनुभएका तिवारी सङ्ग्रहालयका लागि बनिरहेका संरचनाप्रति सन्तुष्ट हुनुहुन्न । 

“सुरुदेखि नै सङ्ग्रहालयका लागि कंक्रिट संरचना नबनाऊ भनेको हो । तर हाम्रो भनाइको सुनुवाइ भएन । अहिले हेर्दा पक्की भवन मात्रै देखिन्छ । यहाँका जानसुन व्यक्तिहरू नै चुप लागेपछि बजेट खर्च गर्नका लागि मात्रै संरचना बनाए जस्तो देखियो ।”, उहाँले भन्नुभयो । 

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय अभिलेखालयमा जुम्लाका ३३ वटा सम्पदा  सूचीकृत छन् । ती सम्पदा झल्किने गरी संरचना बन्नुपर्नेमा हचुवाका भरमा सङ्ग्रहालय निर्माण भइरहेको स्पष्ट हुन्छ । 

यता सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल गाउँपालिकाको लगानीमा कुनै कङ्क्रिट संरचना निर्माण नभएको दाबी गर्नुहुन्छ । 

“पालिकाको लगानीबाट स्थानीय सामाग्री प्रयोग भएको परम्परागत घर निर्माण गरेका छौँ ।”, अध्यक्ष धितालले भन्नुभयो, “त्यहाँ बनेका पक्की संरचना सधैँ संघ प्रदेशको लगानीमा निर्माण भएका हुन् । संघ प्रदेशको बजेटमै पक्की संरचना बनाउने स्टमेट थियो होला । तर पालिकाले परम्परागत संरचना नै बनाएको छ । अब आगामी वैशाखबाट सङ्ग्रहालय सञ्चालनमा ल्याउने तयारी छ ।”

तर संघ प्रदेशकै लगानीमा बन पनि खस सङ्ग्रहालयमा कङ्क्रिट संरचना बनाइनु उपयुक्त होइन । सुरुमा चर्को आलोचना पनि भएन । आएको बजेट फिर्ता नपठाउने मनसायले स्टमेटनुसारकै संरचना बनाइयो । अब सबै संरचनालाई स्थानीयकरण गर्न खस सभ्यता झल्किने गरी रंगरोगन तथा भित्री बाहिरी व्यवस्थापन गरिने अध्यक्ष धितालले जानकारी दिनुभयो । 

उक्त सङ्ग्रहालय निर्माणका लागि बिष्टबाडाका स्थानीय  गोविन्द तिवारी, तोयानाथ तिवारी, प्रेमनाथ तिवारी र मोतिपुरा तिवारी मिलेर घर नजिकको जिउलो ४ हजार वर्गमिटर जग्गा दानमा दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button